फाइल तस्वीर ।
लोपोन्मुख फिरन्ते जाती राउटे समुदायले थप २ हजार रुपैयाँ भत्ता पाउने भएका छन् । सुर्खेतको चिङ्गाड गाउँपालिका–४ मा बसोबास गर्दै आएका राउटे समुदायको बस्तीमा पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राउटे समुदायका नागरिकहरुलाई मासिक २ हजार रुपैयाँ भत्ता प्रदान गर्ने घोषणा गरेका हुन् ।
सामाजिक विकास मन्त्री दल रावल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसी, गुराँस गाउँपालिकाका अध्यक्ष खेमराम ओली सहित बस्तीमा पुगेका मुख्यमन्त्री शाहीले यस्तो घोषणा गरेका हुन् ।
कर्णालीका गहनाको रुपमा रहेको राउटे समुदायका नागरिकहरुले संघीय सरकार मार्फत लोपोन्मुख जातीअन्तरगर्त मासिक ३ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता पाउँछन् । राउटे समुदायका नागरिकलाई संघीय सरकारले प्रदान गर्र्दै आएको ३ हजारसँगै कर्णाली प्रदेश सरकारमार्फत थप २ हजार रुपैयाँ भत्ता प्रदान गर्न लागिएको हो । अबदेखि राउटेले मासिक रुपमा पाँच हजार रुपैयाँका दरले भत्ता पाउनेछन् ।
मुख्यमन्त्री शाहीले प्रदेश सरकारले दिने थप २ हजार भत्ता मदिरा सेवनमा खर्च नगर्न राउटे समुदायलाई आग्रह गरेका छन् । मुख्यमन्त्री शाहीले राउटे समुदायका नागरिकहरु बिरामी पर्दा प्रदेश सरकारले निःशुल्क उपचार गर्ने समेत घोषणा गरेका छन् ।
मुख्यमन्त्री शाहीले समुदायका नागरिकहरुलाई पढाईमा ध्यान दिन आग्रह गरेका छन् । मुख्यमन्त्री शाहीले अघिल्लो वर्ष राउटे समुदायले बृक्षारोपण गरेको क्षेत्रलाई राउटे बाटिका बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
-साभार : अन्नपूर्ण पोष्ट