२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

प्रधानमन्त्री ओलीनिकट नेताहरूको खुमलटारमा ओइरो

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच असमझदारी बढेसँगै ओलीले आफूनिकट नेताहरूलाई दैनिकजसो खुमलटार पठाएका छन्।

प्रधानमन्त्री ओली निकटका परराष्ट्र मन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य प्रदीप ज्ञवाली शुक्रबार खुमालटार पुगेका थिए। प्रचण्डसँगको भेटमा परराष्ट्र मन्त्री ज्ञवालीले दुई अध्यक्ष मिलेर जानु पर्ने सुझाव दिएको स्रोतले बतायो।

कर्णाली प्रदेश प्रकरण, मन्त्रिपरिषद पुनर्गठन, रअ प्रमुखसँगको भेट, पर्सा घटनालगायतका विषयमा असन्तुष्टि जनाउँदै प्रचण्ड बालुवाटार गएका छैनन्।

कात्तिक ३ गतेदेखि प्रधानमन्त्री ओली र प्रचण्डबीच भेट हुन सकेको छैन। मंगलबारदेखि नै प्रधानमन्त्री ओलीले बालुवाटार बोलाएको भए पनि प्रचण्ड जान नचाहेको उनीनिकट स्रोतले बतायो। स्रोतका अनुसार प्रचण्डले २–४ दिनपछि मात्रै भेट्ने भनेर जवाफ पठाएका छन्।

यसअघि बिहिबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्डलाई भेटेका थिए।

त्यस्तै बुधबार अर्थमन्त्री एवं पार्टी महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रचण्डसँग छुट्टाछुट्टै भेट गरेका थिए।