२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

कोरोना संक्रमणबाट कांग्रेस महासमिति सदस्यको निधन

सांकेतिक तस्बिर ।

नेपाली कांग्रेसका महासमिति सदस्य मदन मण्डलको कोरोना संक्रमणका कारण निधन भएको छ ।

बाराको आदर्शकोतवाल गाउँपालिकास्थित टेडाकट्टीका ४५ वर्षीय मण्डलको आइतबार बिहान निधन भएको हो ।

शनिबार कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारका लागि काठमाडौंको नर्भिक अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको नेपाली कांग्रेस बारा क्षेत्र नं. १ का सभापति विजयशंकर यादवले जानकारी दिए ।

वीरगञ्जको नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशाला गरिएको परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।

‘श्वास प्रश्वासमा समस्या आएपछि कोल्हवीकै स्वास्थ्य संस्थामा तीन दिनदेखि भर्ना हुनुहुन्थ्यो,’ यादवले भने, ‘कोरोनाको आशंका लागेर शनिबार पीसीआर परीक्षण गराउन नारायणी अस्पताल लगिएको थियो, रिपोर्ट पोजेटिभ नै आयो । त्यसपछि उपचारका लागि नर्भिक लैजाँदा बाटोमा नै निधन भयो ।’

नारायणी अस्पतालका चिकित्सक डाक्टर दीपक चौरसियाका अनुसार नारायणी अस्पताल ल्याउँदा नै कोरोना संक्रमणका कारण उनको अवस्था गम्भिर थियो । ‘उच्च रक्तचापको विरामी हुनुहुँदो रहेछ, कोभिड संक्रमणका कारण खोकी लाग्ने र सास लिन गाह्रो भइरहेको थियो,’ डाक्टर चौरसियाले भने, ‘नारायणीमा आवश्यक उपचारसँगै कोरोना परीक्षण भयो, रिपोर्ट पोजेटिभ आएपछि बाबा होटल आइसोलेसन लैजान भनेका हौं, त्यहाँ कोरोना संक्रमितका लागि सबै उपचार सेवा छ भन्दा पनि मान्नुभएन । काठमाडौं लैजाने भनेर लिएर जानुभएको थियो ।’

महासमिति सदस्य मण्डलको निधनप्रति नेपाली कांग्रेस बाराले दुःख व्यक्त गरेको छ ।