२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

कांग्रेसमा संसद् अधिवेशन बोलाउने विषयमा छलफल हुने

प्रमुख प्रतिपक्षी कांग्रेसको सोमबार बस्ने अनौपचारिक बैठकमा संसद् अधिवेशन बोलाउने विषयमा समेत छलफल हुने भएको छ ।

कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले सरकारले तत्काल संसद् अधिवेशन नडाके कांग्रेसको अगुवाइमा संसद् अधिवेशनका लागि समावेदन गरिने बताए । ‘संसद् अधिवेशन बोलाउने विषयमा कांग्रेसमा विमति नभएकाले केन्द्रीय कार्यसमितिको बैठक कुर्नुपर्ने अवस्था छैन ।

सोमबारको अनौपचारिक बैठकमा एउटा निर्णयमा पुग्न सकिन्छ,’ उनले भने, ‘सरकारले डाके समावेदन आवश्यक पनि परेन । नडाकेर तन्काउन खोजियो भने बाध्य भएर समावेदनको बाटो लिनुपर्ने हुन्छ ।’

दसैंअघिको अनौपचारिक बैठकले नै संसद् अधिवेशन बोलाउने निर्णय कांग्रेसले गरेको थियो । असोज १९ गते केन्द्रीय कार्यसमितिको बैठकमा निर्णय गरेर संसदीय दललाई प्रक्रियाका लागि निर्देशन दिने तयारी थियो । पार्टीका आधा दर्जन केन्द्रीय सदस्यलाई कोरोना संक्रमण देखिएपछि बैठक स्थगित भएको थियो ।

बैठक कात्तिक २१ गतेका लागि बोलाइएको छ । त्यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले उठाएका विषय र महाधिवेशनको तयारीबारे छलफल गर्न सोमबार पदाधिकारी, पूर्वपदाधिकारीसहितको अनौपचारिक बैठक डाकिएको छ । महतले सरकारको अकर्मण्यता र भ्रष्टाचारविरुद्ध छलफलका लागि संसद् बैठक आवश्यक रहेको बताए ।