राष्ट्रिय रचनात्मक लेखन प्रतियोगितामा दाङका पत्रकार दुर्गालाल केसी उत्कृष्ट भएका छन् । कोरोना महामारीका क्रममा सुरक्षित सिकाई परियोजना अन्तर्गत एस्डिजी स्टुडियोद्वारा आयोजित रचनात्मक प्रतियोगिता २०७७ मा कान्तिपुर दैनिकका उपसम्पादक समेत रहेका केसीको “सुरक्षित बालापनमा सुन्दर सिकाई कसरी ?” शिर्षकको लेख उत्कृष्ट भएको हो ।
युवाहरुको प्रतिभा प्रस्फुटन, क्षमता अभिवृद्धि र हौसला प्रदान गर्नुका साथै युवाहरुलाई कोरोना भाइसको महामारीको अवस्थामा पनि सुरक्षित सिकाई वातावरणको महत्व र बुझाइबारे सक्रिय राख्न प्रतियोगिता आयोजना गरिएको थियो । कविता, गीत, कथा, लेख र चित्र तथा हस्तकलाको लागि १५० जनाले रचना पठाएका थिए । उपलब्ध रचनाहरुमध्ये हरेक विधाबाट उत्कृष्ट ५÷५ जना छनोट गरी पुनः प्रतिस्पर्धा गराइएको आयोजक एस्डिजी स्टुडियोका कार्यक्रम व्यवस्थापक निरज न्यौपानेले जानकारी दिए ।
रचनात्मक प्रतियोगिताका पाँच बिधामध्ये लेखतर्फ केसीको सुरक्षित बालापनमा सुन्दर सिकाई कसरी ?, कथातर्फ डा. सम्पदा भट्टराईको आमाको स्नेह, कवितातर्फ तारानाथ पराजुलीको कर्णधार, गीततर्फ यज्ञराज जोशीको छाउगोठ र चित्रकला वा हस्तकलामा उजेली सुनारको समानताको समाज शिर्षकका रचना उत्कृष्ट भएका हुन् । सम्पूर्ण विजेताहरुलाई प्रोत्साहन स्वरुप नगद रु १० हजार, प्रमाण पत्र र मायाको चिनो प्रदान गरिने न्यौपानेले बताए ।
प्रतियोगितामा सहभागीले आफ्नो घर, विद्यालय, र समाजमा सुरक्षित वातावरणको परिकल्पना र बालबालिकाहरु वा किशोरकिशोरीमाथि हुने हिंशा वा दुव्र्यवहारबाट सुरक्षित रहन सकिने चेतनामुलक रचनाहरुमा केन्द्रित हुनुपर्ने नियम थियो । यसका साथै भिडियो वा फिल्ममा रुची भएका २० जना युवाहरु छनोट गरी ३ दिने छोटो फिल्म निर्माण सम्बन्धी तालिम आयोजना गरिएको थियो ।