२०७८ साउन १८ गते सोमवार
२०७८ साउन १८ गते सोमवार

दुर्घटनामा गम्भीर घाईते अधिकारीलाई काठमाण्डौं लगियो

कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीलाई काठमाण्डौं लगिएको छ । सोमबार बेलुका सडक दुर्घटनामा परि गम्भीर घाईते भएका अधिकारीलाई थप उपचारकालागि काठमाण्डौं पठाइको पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन श्रेष्ठले जानकारी दिए ।

उद्योग वाणिज्य महासंघको चुनावी प्रचारका क्रममा पाल्पाको वगनाशकाली गाउँपालिका–३, बेलउतीडाँडामा अधिकारी सवार गाडी दुर्घटनामा परेको थियो । अधिकारी आफैले चलाएको बा१८च ४३४१ नम्बरको कारमा सवार रोल्पा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष किशोर आचार्य समेत गम्भीर घाईते भएका थिए ।

घाईते दुबैको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार गरीएपनि अधिकारीको अवस्था जटिल भएकाले थप उपचारकालागि काठमाण्डौं पठाइएको पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार अधिकारीको ढाडमा गम्भीर चोट लागेको छ ।

गुल्मीको तम्घासबाट फर्केर उनीहरु तानसेनबाट पोखरा जाँदै गर्दा दुर्घटनामा परेका हुन् । उनीहरु दुवै जना नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने क्रममा रहेको बुझिएको छ । कार सडकबाट १५० मिटर तल खसेको थियो ।