२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

दंगिशरणमा १ सय केभी वाटका ट्रान्समिटर जडान

दंगीशरण गाउँपालिकाका नागरीक बर्षौ देखि कम भोल्टेजको विजुली बाल्ने समस्य बाट मुक्त भएका छन् । बर्षौदेखि कम भोल्टेजको बत्ती बालेर हैरान भएका नागरीकहरु अव भने यो समस्याबाट मुक्त भएका हुन् ।

तुलसीपुर विधुत प्राधिकरणसंग समन्वय गरेर १ सय केभि वाटको ट्रान्समिटर जोडिएपछि दंगीशरणको १, २ र ७ नं. वडाका नागरीकहरुलाई सहज भएको हो । दंगीशरणको वडा नं. ७ बुटनीया र बाकाँमा गरी दुई वटा ट्रान्समिटर जोडिएको हो भने वडा नं. २ सरुवाडाँडामा एक वटा र वडा नं. २ छर्कट्टामा लिफ्ट सिचाई परियोजनाका लागि एक वटा, वडा नं. ५ मा एक वटा र वडा नं. ६ बागरमा १ वटा गरि ६ वटा ट्रान्समिटर जोडिएको हो ।

केहि दिनअघि दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरी, गाउँपालिका प्रवक्ता एंव ७ नं. वडा अध्यक्ष विर बहादुर वली, नेकपा गाउँपालिका अध्यक्ष भरत अधिकारी, नेकपा जिल्ला सदस्य एमएन शाहलगाएतको टोली तुलसीपुर विधुत प्राधिकरणमा गएर ट्रान्समिटरको माग गरेको थियो ।

कम भोल्टेजका कारण बर्षौ देखि दंगीशरणका नागरीक मोबाईल चार्ज गर्ने, विधार्थीहरुलाई पढ्नमा समस्या र रातीको समयमा कुनै पनि काम गर्न समस्या हुने गरेको त्यँहाका नागरीकहरुले बताएका छन् । “टुकी बालेको भन्दा पनि मधुरो बत्ती बल्थ्यो अव भने यो समस्या टर्यो स्थानीय तहका जनप्रतिनिधिलाई धन्यवाद छ” एक नागरीकले भने ।

यता दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले दंगीशरण गाउँपालिकाका कुनै पनि नागरीक अध्यारोमा बस्न नपर्ने बताएका छन् । कुनै पनि वडा, गाउँ वा टोलमा विधुतको समस्या भएमा त्यस्को समस्या तत्काल गर्ने बताए । वडा नं. १ को फुर्केसल्लीसम्म विधुत पुग्न नसकेको बताउँदै त्यो पनि प्रक्रियामा गईसकेको बताए । अहिले खर्काकोटि हाउँरेसम्म पोल तथा तार जोड्ने कार्य भने सम्पन्न भएको उनले बताए । “यहि बर्ष काम सम्पन्न हुनेछ ।” अध्यक्ष चौधरीले भने ।

यस्तै गाउँपालिकामा विधुत नपुगेको ठाउँमा विधुत जडानका लागि २ सय पोल तार टेण्डर भईसकेको गाउँपालिका प्रवक्ता विर बहादर वलीले जानकारी दिए । “यो बर्षमा विधुत नपुगेको सबै ठाउँमा विधुत पुर्याउने लक्ष्यका साथ काम भईरहेको छ । ” प्रवक्ता वलीले भने । दंगीशरणको विकट वडा वडा नं. १ का बर्षौदेखि टुकीको उज्यालोमा बस्दै आएका फुर्केसल्लीबासीहरु विधुतको पखाईमा बस्दै आएका छन् ।