२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

लुम्बिनी प्रदेशको स्थाई राजधानी ब्यवस्थापनका लागि छलफल

लुम्बिनी प्रदेशको स्थाई राजधानी ब्यवस्थापन गर्ने सन्दर्भमा प्रारम्भिक चरणमा लुम्बिनी प्रदेश सरकारले आफ्नो प्रमुख प्रशासनिक केन्द्र राप्ती गाउँपालिका मौरीघाटस्थित राप्ती प्राविधिक शिक्षालयलाई केन्द्र मानेर बनाउने तयारी गरेसंगै प्राविधिक शिक्षालयका बारेमा छलफल सुरु भएको छ ।

बुधबार मुख्यमन्त्री कार्यालयमा राप्ती, गढवा गाउँपालिकाका प्रमुख र राप्ती प्राविधिक शिक्षालय लगायतसंग छलफल भएको छ । छलफलमा राप्ती प्राविधिक शिक्षालयले ओगटेको क्षेत्रफल प्रदेश राजधानीका लागि र प्राविधिक शिक्षालयका लागि सुविधायुत्त स्थानको कसरी ब्यवथापन गर्ने विषयमा छलफल भएको हो ।

लुम्विनी प्रदेशको स्थाई राजधानी ब्यवस्थापन गर्ने सन्दर्भमा प्राविधिक शिक्षालयका प्रतिनिधि, राप्ती र गढवा गाउँपालिकाकाले प्रदेश सरकारलाई आवस्यकता अनुसार निर्माण रहेका संरचना, र आवस्यक जग्गा दिन तयार रहेको प्रतिवद्धता जनाएको राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले बताउनु भएको छ ।

अध्यक्ष नुमानन्द सुवेदीका अनुसार बैठकमा शिक्षा मन्त्रालय र सीटीईभीटीले चाहेमा राप्ती गाउँपालिकाको आदर्श माध्यामिक विद्यालय, एरावती बहुमुखी क्याम्पस र गढवाको सरस्वति माध्यामीक विद्यालयका संरचनामा राप्ती प्राविधिक शिक्षालय अस्थाई वा स्थाई तवरले संचालन गर्ने गरि दिन दुबै पालिका तयार रहेको र हर तवरले प्रदेश सरकारलाई सहयोग गर्न राप्ती, गढवा र शितगंगा पालिका तयार रहेको बताउनु भएको छ ।

२०५० सालमा स्थापना भएको राप्ती प्राविधिक शिक्षालयमा हाल करिव हजार बढि विद्यार्थी अध्ययनरत छन् । त्यहाँ सीटीईभीटी अन्तर्गतका आईएससी एजी, जेटीए, सब ओभरसियर, सीएमएलगायतका विषय पढाइ हुँदै आएको छ ।