सत्तारुढ नेकपाभित्रको विवाद झनै उत्कर्षमा पुगेको छ । बिहीबार दिउँसो बालुवाटारमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफलले विवाद झनै बढाएको एक नेताले दाबी गरे । ती नेताका अुनसार छलफल सकारात्मक नभएको बरु त्यसले विवाद थप बढेको हो ।
बुधबार ओली समूहले आफू निकट प्रदेश १ का नेताहरुसँग गरेको भर्चुअल बैठक र प्रधानमन्त्रीको राजीनामा सम्बन्धी अभिव्यक्तिलाई लिएर अध्यक्ष दाहालले आपत्ति जनाएका छन् । पार्टी फुटाउन खोजेको आरोप आफूलाई लगाएर बालुवाटारबाट फुटका गतिविधि भएको भन्दै दाहालले आपत्ति जनाएका हुन् । साथै पार्टीमा उठ्दै नउठेको राजीनामाको विषयबारे प्रधानमन्त्रीको बुधबारको अभिव्यक्तिप्रति पनि दाहालले आपत्ति जनाएको ती नेताले बताए ।
अहिले पार्टीमा प्रधानमन्त्रीको राजीनामाको विषय नभई स्थायी कमिटीका निर्णय कार्यान्वयन र पार्टी बैठकको मात्रै माग भएको दाहालले ओलीलाई भनेका थिए ।
पार्टी फुटाउन लागेको दोष आफूलाई लगाउने तर गुटका भेला, बैठक गरेर पार्टी फुटाउने तयारी बालुवाटारबाट भएको भन्दै दाहालले त्यसले निकास नदिने बताएका थिए । उनले सबै कुरा बैठकमा राख्न ओलीलाई आग्रह गरेको पनि ती नेताले बताए । तर, ओली बैठकप्रति सकारात्मक नभएपछि दाहाल छलफलको औचित्य सकिएको भन्दै बालुवाटारबाट निस्किएका थिए ।
केहीदिन अगाडि प्रधानमन्त्री ओलीले बैठक पनि नबस्ने र बहुमतले गरेका निर्णय पनि नमान्ने बताएका थिए । बुधबार ओली पक्षले आफू निकट प्रदेश १ का नेताहरुसँग भर्चुअल बैठक गरेर जबजको पक्षमा उभिन निर्देशन दिएको खबर कान्तिपुरमा प्रकाशित छ ।