गीतकार लोकराज अधिकारी कोरोना संक्रमित भएर होम आइसोलेसनमा छन् । अधिकारी दम्पत्तीलाई नै कोरोना पुष्टि भएको हो । ‘तिम्ले पराइ ठानेपछि’, ‘रुपै मोहनी’ दर्जनौं चर्चित गीतका गीतकार रहेका लोकराजले होम आइसोलेनवाट प्रधानमन्त्री ओलीलाई खुला पत्र लेखेका छन् ।
कोरोना संक्रमितको अवस्थाप्रति सरकार सम्बेदनशिल नभएको भन्दै उनले आलोचनात्मक पत्र लेखेका हुन् । भर्खरै सरकारले कारोना संक्रमितलाई निशुल्क उपचार नगर्ने निर्णय गरेपछि त्यसको विरोध भएको छ । जसका कारण उपचार गर्न नसकेर संक्रमितले उपचार बिनानै ज्यान गुमाउनु परेको छ । शुक्रबार सामाजिक सञ्जालमा लामो स्टाटसमार्फत उनले प्रधानमन्त्रीलाई खुला पत्र लेखेका हुन् ।
उनी लेख्छन् :
प्रधानमन्त्रीलाई खुलापत्र सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओली ज्यू, नमस्कार ।
म होम आइसोलेसनमा भएपनि तपाईं र तपाईंको सरकार निका होस भनी कर तिरिराको छु । त्यसैले आरामै हुनुहुन्छ होला भन्ने आशा गर्द्छु ।
प्रधानमन्त्री ज्यू , कमै मात्र नेताले पाउने स्वर्णिम अबसर तपाईंले प्राप्त गर्नुभयो । आशा थियो मुलुकले कोल्टे फेर्छ । अब धेरैका घर घरमा कम्युनिस्ट नेताका रुपमा मन नपरे पनि देशको प्रधानमन्त्रीको रुपमा संम्मानपुर्बक केपि ओलीको तस्बिर सजिनेछ । धेरैले चिरकालसम्म तपाईंको गुणगान र बखान गर्दैमा थाक्ने छैनन भन्ने लागेको थियो ।
समयक्रम बित्दै जादा तपाईं ‘गफाडी साबित हुनु भयो । मन अमिलो पार्दै भन्नुपर्छ तपाईं ‘हास्य पात्र’का रुपमा मनोरन्जन दिन सफल हुनु भो प्रधानमन्त्रीका रुपमा असफल । सुशासन कायम गर्न असफल, जनजिबिकाका सवालमा असफल , राज्य संचालनका सम्प्रर्ण कर्ममा असफल । सफल हुनु भो त केबल हालसम्म कुर्सी जोगाउन ।
त्यो पनि सबै मूल्य मान्यतालाई तिलान्जली दिएर । म नै सबै हो भन्ने ग्रन्थी यति धेरै बिकास गराउनु भयो कि म नै संविधान , म नै राज्य , म डुब्नु भनेकै संसार डुब्नु हो भन्ने ठान्नु भो । र, डुबाउँदै जानू भो देशलाई । आफ्नो कद र हैसियतलाई आफैले घटाउँदै लानु भो ।
प्रधानमन्त्रीज्यु , देशको अबस्था अत्यन्त राम्रो छ । बिरोधीहरु ले जेमा पनि बिरोधका लागि बिरोध गरिरहेका छन । सब ठिकठाक चलेको छ भनेर तपाईंलाई सल्लाह दिनेहरुको तलबी झुन्डले तपाईंले देखेको समृद्द नेपाल सुखी नेपालीको सपना केही बर्ष पहिलेनै थाङने बनाइ सकेका हुन । अब यो नारा सुन्दा नै नेपाली जनतालाइ एलर्जी हुन्छ र बान्ता आउँछ ।
यो ढ्ङ्गले देश त अहिलेको कुनै संरचना नभएपनि चल्छ प्रधानमन्त्री ज्यू । तपाईं भएपनि चल्छ नभए पनि चल्छ । त्यसैले अझै समय छ ब्युझनुस एक थान कुर्सी र पदको लागि दैनिक कोठे बैठक र गुटको भेला गर्नुको साटो देशको माटो छातीमा राखेर जनताको मुहार हेरेर (जनताको मुहार हेर्न कर्णाली पुग्नै पर्दैन खुलामंचमा भात खानेका अनुहार हेरे पुग्छ) परिवर्तनको अठोट सहित अगाडि बढ्नुस तपाईंको कुर्सी जोगाउन प्रायोजित जुलुस आवश्यक पर्दैन ।
कोरोनाको उपचारका लागि अस्पतालको बेड नपाएर ज्यान गुमाउनेको पीडालाई आफ्नो घरको अबस्थासँग तुलना गर्नुस । संबेदनसिल अबस्थामा कात्रोमा समेत कालोबजारी गर्ने लोककल्याणकारी ब्यबस्था कसरी हुन्छ ? अफ्ट्यारोमा राज्यले हात उठाउने कस्तो गणतन्त्र ? तपाईं र तपाईं नेतृत्वको सरकारलाई किन धारेहात लगाउदै छन जनता सोच्नुस त ? लेख्न त अझै धेरै मन थियो तर अहिले यति भनौ सबै भन्दा ठूलो कुरो एक दिन सबै छोडी जाने हो भौतिक सुख सयल पद प्रतिष्ठा एक पलका हुन भन्ने मनन गर्नुस् ।
जन आवाज सुन्नुस र जनभावना अनुसार चल्नुस स्वर्गीय आनन्द पाउनु हुनेछ । आफू बद्लिनुस अनि बद्ल्नुस कार्यशैली अनि बद्लिन्छ देश । समय छ अझै । आगे तपाईंको इच्छा……….
तपाईंको शुभेच्छुक –
लोकराज अधिकारी
घोराही–४ लक्ष्मीपुर दाङ