२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

३ जिल्लामा नयाँ निकुञ्ज थप्ने तयारी

सरकारले मुगु, नुवाकोट–सिन्धुपाल्चोक र सोलुखुम्बु–संखुभासभामा गरी तीन नयाँ निकुञ्ज बनाउने तयारी थालेको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले डोल्पास्थित से–फोक्सुन्डो निकुञ्जबाट पूर्वको मुगुमा फैलिएको ८३९ वर्गकिलोमिटर क्षेत्रलाई डोल्फु राष्ट्रिय निकुञ्ज बनाउने प्रस्ताव अघि बढाएको छ ।

हालै तयार गरिएको ‘विभागको तत्काल सुधार रणनीतिक योजना’ मा तीन वटा नयाँ निकुञ्ज थप्ने प्रस्ताव गरिएको हो । वन तथा वातावरण मन्त्रालयका सहसचिव पेमनारायण कँडेलले विभागको नेतृत्व गरेलगत्तै विभागको रणनीतिक योजना तयार गरी कार्यान्वयनका लागि अघि बढाइएको हो ।विभागले समुदायको सहभागितामा व्यवस्थापन गर्ने गरी सात स्थानमा संरक्षण क्षेत्र घोषणा गर्ने योजनासमेत अघि सारेको छ ।

रोल्पाको जलजला, जाजरकोट, ललितपुरको फुलचोकी–चन्द्रागिरि, हुम्लाको लिमी, जुम्लाको सिंजा र डडेलधुराको जोगबुढामा संरक्षण क्षेत्र घोषणा गरिने कार्ययोजनामा उल्लेख छ । वंश विस्तारका लागि कोसीटप्पुबाट अर्ना र शुक्लाफाँटा निकुञ्जबाट बाह्रसिंगा चितवन निकुञ्जमा स्थानान्तरण गर्नेसमेत विभागको योजना छ । विगतका वर्षहरूमा पनि ती प्रजातिका वन्यजन्तु ल्याइएको थियो ।