२०७८ साउन १८ गते सोमवार
२०७८ साउन १८ गते सोमवार

रोल्पाका कोरोना संक्रमित पुरुषको भेरी अस्पतालमा मृत्यु

सांकेतिक तस्वीर ।

रोल्पाका एक जना कोरोना संक्रमितको बाँकेको भेरी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको छ ।

रोल्पाको लिबाङ नगरपालिका–४ का ५६ वर्षीय कोरोना भाइरस संक्रमित पुरुषको मृत्यु भएको हो।

कात्तिक १४ मा कोरोना संक्रमण पुष्टि भएपछि नेपालगञ्ज स्थित भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरिएका पुरुषको शनिबार राति १२ः१० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए।

स्वास्थ्यमा खराबी देखिएपछि उनको रोल्पास्थित रेउघा स्वास्थ्य चौकीमा उपचार भएको थियो। उपचारपछि पनि स्वास्थ्यमा सुधार नआएपछि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ल्याइएको थियो।

शिक्षण अस्पतालले कोरोना आशंकामा कात्तिक १४ मा स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनलाई थप उपचारका लागि भेरी अस्पतालमा ल्याइएको श्रेष्ठले बताए। मृतक पुरुषमा एक महिनादेखि जण्डिसको समस्या देखिएको पारिवारिक श्रोतलाई उदृध गर्दै श्रेष्ठले जानकारी दिए।