२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

आज गणेशमानको १०६औं जन्म जयन्ती

प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०६ औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।

नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल थिए। वि।सं। २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरे।

विसं १९७२ कात्तिक २४ गते काठमाडौंको क्षेत्रपाटीमा जन्मिएका नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको हो। काठमाडौंको खानदानी परिवारमा जन्मिएका सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए।

राणा शासन अन्त्य गर्ने अभियानमा लागेपछि उनीलगायत नेतालाई तत्कालीन सरकारले जेल हाल्यो। विसं २००७ अघि नै भद्रगोल जेल फोरेर भाग्न सफल हुनुभएका जोशिला तन्नेरी गणेशमान प्रवास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनमा सक्रिय थिए। जेलबाट भागेर भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरे। केही सहयोगीका साथ २००३ सालमा स्थापित नेपाली राष्ट्रिय कांग्रेसलाई आजीवन जुझारू नेतृत्व दिन पनि गणेशमानको उल्लेखनीय भूमिका छ।

यस वर्ष कोरोना भाइरसको सङक्रमण फैलिएकाले गणेशमान जयन्तीका अवसरमा आज गणेशमान सिंह अध्ययन प्रतिष्ठानले उनको जन्मस्थान भएको क्षेत्र काठमाडौँ–८ मा अक्सिमिटरलगायत स्वास्थ्य सामग्री वितरणसँगै जनचेतनामूलक अभियान शुरु गर्ने अध्यक्ष नवीन्द्रराज जोशीले जानकारी दिए।

कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक सङ्घ संस्थाले जुम प्रविधिबाट विभिन्न कार्यक्रम आयोजना गरी गणेशमान जयन्ती मनाउने जनाइएको छ।