२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

वामदेव गौतमलाई मन्त्री बन्ने बाटो खुला

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने सरकारको निर्णयमा बदर गर्न माग गरिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।

योसँगै गौतमलाई राष्ट्रिय सभा सदस्यका रूपमा काम गर्न वा मन्त्री बन्न बाटो खुलेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गौतमविरूद्ध हालेको रिट निवेदनमा प्रधानन्यायाधीश चोलेन्द्र राणा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वर खतिवडाको संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

यसअघि न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले संवैधानिक इजलासमा दुवै पक्षको बहस सुनेर निर्णय गर्न र त्यतिन्जेल यो विषयवस्तु यथास्थितिमा राखी गौतमलाई थप जिम्मेवारी नदिन आदेश दिएको थियो ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बर्दियाबाट प्रतिनिधि सभामा पराजित वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा गएको असोज १ गते मनोनित गर्नुभएको थियो । त्यसपछि गौतमविरुद्ध सर्वोच्चमा रिट निवेदन परेको थियो ।