२०८१ कार्तिक १९ गते सोमवार
२०८१ कार्तिक १९ गते सोमवार

स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै पर्व मनाउनुहोस् : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको महामारीले विश्वसँगै नेपाल पनि आक्रान्त रहेका कारण स्वास्थ्य सुरक्षाका मापदण्डलाई पूर्णरूपमा पालना गरेर पर्व मनाउन सबैलाई आग्रह गर्नुभएको छ ।

तिहारको पाँचौँ दिन भाइटीका तथा नेपाल संवतको नयाँ वर्ष ११४१ को अवसरमा सबै नेपालीमा शुभकामना सन्देश दिँदै उहाँले कोरोना सङ्क्रमणको रोकथाम र नियन्त्रणमा सरकारको उदासिनताका कारण बढ्दो सङ्क्रमणलाई कम गर्न नागरिकहरु आफै पनि सचेत र सजग हुन जरुरी रहेको उल्लेख गर्नुभएको छ ।

सन्देशमा उहाँले भन्नुभएको छ, ‘नेपाल विभिन्न जात–जाति, भाषा–भाषी, धर्म, विभिन्न चाड–पर्व एवं विभिन्न संस्कृति भएको देश हो, हामीमा निहित बन्धुत्व भावले विविधता बीचमा पनि अनुपम एकता कायम गरेको छ, तिहारले पनि हामी बीचको एकतालाई अझ मजबुत बनाएको छ ।’ तिहार अर्थात् यमपञ्चकका हरेक दिनले समस्त नेपालीहरुमा नयाँ उमङ्ग सिर्जना गर्न, दिदीबहिनी र दाजुभाइहरूबीच तथा आफन्तहरूबीचमा सुमधुर र सौहार्द सम्बन्ध विकसित गर्न सघाएको सभापति देउवाले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

सभापति देउवाले अन्धकार विनाश गर्ने उज्यालोको पर्व तिहार र आफ्नै धरतीबाट उठेको नेपाल संवतको नयाँ दिनले पारस्परिक एकता र सद्भावलाई अगाडि बढाउन सकोस् भन्दै, तिहार तथा नेपाल संवतको नयाँ वर्षको उपलक्ष्यमा सबैमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।