२०८१ माघ १३ गते आइतवार
२०८१ माघ १३ गते आइतवार

मुगुमा मंसिरमै हिउँ पर्यो

फाइल तस्वीर ।

सोरु गाउँपालिका–२ जडेपानी गाउँका राजेन्द्रबहादुर शाही सोमबार बिहानै रारा विमानस्थल वरपर सेताम्य हिउँ देख्न पाउँदा दंग परे । गाउँदेखि नेपालगञ्ज झर्न विमानस्थल पुगेका उनी मंसिरमै हिउँ देख्न पाएपछि निकै उत्साहित देखिए ।

चिसोलाई वास्ता नगरी शाही हातमा मोबाइल लिएर सेताम्य हिउँमा सेल्फी र तस्वीर खिच्दै रमाए । ‘मंसिरमै हिउँको फोटो खिच्न पाइयो,’ शाहीले भने, ‘भाइटिकाको दिनमा यसरी हिउँले सेताम्य होला भन्ने सोचेकै थिइनँ ।’

आइतबार मध्यरातदेखि मौसममा बदली भई रारा, मुर्मा, ताल्चा, चुचुमारेलेक, घुच्चीडाब, बाम, चंखेली लेक, मुगु, डोल्फु, छायाँनाथ, लगायत क्षेत्रमा ३ इन्च हिउँ परेको हो । गत भदौदेखि सुक्खा देखिएका मुगुमा डाडाकाँडा र जंगलहरु हिउँले सेताम्य देखिएका छन् । रारा घुम्न आएका आन्तरिक पर्यटकहरु हिउँमा रमाएका छन् ।

विगत बर्षहरुमा पुस, माघ, फागुन महिनामा हिउँ पर्ने गर्थ्यो । मंसिरमै हिउँ आएको हुँदा यो वर्ष धेरै हिउँ पर्नसक्ने लक्षण देखिएको ताल्च गाउँका बाँचे महतराले बताए । उच्च पहाडी क्षेत्रमा हिमपात र बेसीतर्फ वर्षा भएकाले किसानहरु खुशी भएको पनि उनले बताएको खबर कान्तिपुरमा प्रकाशित छ ।