२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल आज

नेपाल र बंगलादेशबीचको दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल आज हुँदैछ । ढाकास्थित बंगबन्धु रंगशालामा हुने खेल नेपाली समायानुसार अपराह्न ४ः४५ बजे सुरु हुनेछ ।

‘मुजिब वर्ष फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज’ अन्तर्गत रहेको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल जित निकाल्ने लक्ष्यमा हुनेछ ।

पहिलो खेलमा पराजित नेपाल दोस्रो खेलमा जित निकाल्दै मैत्रीपूर्ण खेलको सुखद अन्त्य गर्न चाहन्छ । गत शुक्रबार भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग दुई शुन्य गोल अन्तरले पराजित भएको थियो ।

नेपाली टिमका मुख्य प्रशिक्षक बल गोपाल महर्जनले जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने बताएका छन् ।

बंगलादेशविरुद्धको दोस्रो खेलमा रजिन धिमाल मैदान उत्रने सम्भावना रहेको छ । कोरोना पोजेटिभ देखिएपछि धिमालले अघिल्लो खेल गुमाएका थिए । धिमाल कोरोना मुक्त भईसकेका छन् ।

यता, बंगलादेश भने नेपालविरुद्ध लगातार दोस्रो खेलमा जित निकाल्न चाहन्छ ।

त्यस्तै बंगलादेश जित निकाल्दै ‘मुजिब वर्ष फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज’ को ट्रफी आफैँ राख्न चाहन्छ । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेलिरहेको हो ।

कतारमा सन २०२२ मा हुने विश्वकप र चीनमा सन २०२३ मा हुने एसियन कप छनोटमा नेपालले अब ३ घरेलु खेल खेल्न बाँकी रहेको छ ।अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग खेल्न बाँकी रहेको छ ।