हिमाली जिल्ला मनाङमा हिउँ पर्न थालेको छ ।
ङिस्याङ गाउँपालिकाको मनाङ गाउँस्थित छिरिङ लोप्साङ गुरुङका अनुसार सोमबार बिहान १० बजेतिरबाट हिउँ परेको थियो । मनाङको माथिल्लो क्षेत्र मनाङ गाउँ वरपर सोमबार परेको हिउँ । दिउँसो ३ बजेबाट भने रोकिएको उनले बताए ।
मनाङका प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीका अनुसार माथिल्लो मनाङका सबैजसो क्षेत्रमा हिमपात परेको छ । २ हजार ८ सय मिटर माथिका सबैजसो ठाउँमा हिमपात भएको उनले बताए । चिसो अत्याधिक बढेपछि तापक्रम माइनस ८ डिग्री सेल्सियससम्म झरेको प्रजिअ गिरीले बताए ।
मनाङमा यस वर्ष ३ हजार मिटर उचाइमा कात्तिक १७ गते नै हिउँ परेको थियो । माथिल्लो क्षेत्रका केही बस्ती र डाँडाकाँडामा हिउँ परे पनि बस्ती नै पूरै ढाकिने गरी भने परेको थिएन । प्रजिअ गिरीका अनुसार गत वर्ष मंसिर २७ गते हिउँ परेको थियो । यस वर्ष चाँडै हिउँ परेको उनले बताएको खबर कान्तिपुरमा प्रकाशित छ ।