२०८१ माघ ७ गते सोमवार
२०८१ माघ ७ गते सोमवार

बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु

विवादको उत्कर्षमा पुगेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ।

बैठकमा नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी छन्। यसअघि आजको बैठकमा ओली सहभागी नहुने र बैठक स्थगित गर्न ओलीले महासचिव विष्णु पौडेल मार्फत अर्का अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका थिए।

दाहालले कुनै पनि हालतमा बैठक बसाउने अडान लिएपछि ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श लिएका थिए। सचिवालय बैठकमा सहभागी हुन ओलीले १ बजेको लागि डाकेको मन्त्रिपरिषद बैठक पनि एक घण्टा पर सारेका थिए। प्रधानमन्त्री  बैठकमा उपस्थित रहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले पुष्टि गरे।

आजको बैठकमा बहुमत सचिवालय सदस्यहरुले बुझाएको पत्रमाथि प्रधानमन्त्री ओलीले जवाफ दिने तयारी गरेका छन्। त्यस्तै अर्का अध्यक्ष पुष्पकमल दाहालको प्रतिवेदनमाथि पनि छलफल हुनेछ। सचिवालय बैठकमा सहभागी भएर स्थायी कमिटी बैठक पर धकेल्ने रणनीतिमा ओली रहेको बताइएको छ।