२०८१ माघ १३ गते आइतवार
२०८१ माघ १३ गते आइतवार

प्रधानमन्त्री ओलीले छुट्टै राजनीतिक प्रस्ताव पेस गर्ने, बैठक १० दिनका लागि स्थगित

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले छुट्टै राजनीतिक प्रस्ताव पेस गर्ने भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकमा ओलीले छुट्टै प्रस्ताव ल्याउने बताएका छन् । यसअघि २८ गते बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रस्ताव पेस गरेका थिए ।

साथै सचिवालय बैठक माग गर्दै पाँच नेताले लेखेको २ पन्ने पत्र, त्यसको जवाफमा ओलीले प्रचण्डलाई लेखेको १० पन्ने पत्र र प्रतिउत्तरमा प्रचण्डले लेखेको सात पन्ने पत्र र अन्तर पार्टी निर्देशन (अपानि) समेत वितरण भएको थियो ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठकाअनुसार अध्यक्ष ओलीको प्रस्ताव समेतलाई ध्यानमा राखेर सचिवालय बैठक १० दिनका लागि स्थगित भएको छ । १३ गते ओलीले प्रस्ताव पेस गरेपछि सचिवालयमा सबै प्रस्तावमाथि छलफल हुनेछ ।

साथै १८ गते स्थायी कमिटी र २५ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । यसअघि स्थायी कमिटीले १५ कात्तिकमा तोकेको केन्द्रीय कमिटी बैठक एक महिनालाई सारिएको थियो । अब थप दिन पर धकेलिएको छ ।