२०७७ माघ ७ गते बुधवार
२०७७ माघ ७ गते बुधवार

कांग्रेसले सुसाइड गेम नखेलोस् : केन्द्रीय सदस्य गिरी

नेपाली कांग्रेसका नेता दिपक गिरीले कांग्रेसले सुसाइड गेम खेल्न नहुने भन्दै तत्काल केन्द्रीय समिति बैठक बोलाएर सटिक निर्णय लिनुपर्ने बताएका छन् । सञ्चारकर्मीसंग आज संक्षिप्त कुरा गर्दै पूर्वमन्त्री समेत रहेका गिरीले कांग्रेस केन्द्रीय समिति बैठक बोलाउनुपर्नेमा जोड दिएका हुन् ।

‘कांग्रेसले सुसाइड गेम नखेलोस् । केन्द्रीय समिति बैठक बोलाई सटिक निर्णय लेओस्’–उनले भने । नेता गिरीले अहिले नेपाली कांग्रेस सरकारमा जान नहुने पनि बताए । त्यस्तै, उनले सरकार पूर्ण असफल भइसकेको दाबी पनि गरे । ‘नेपाल इतिहासकै संकटपूर्ण अवस्थामा छ । विश्वलाई नै समस्यामा पारेको कोरोना महामारीको प्रकोप बढ्दो छ ।

‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारा दिएर सरकारमा पुगेको नेकपाको सरकार आफ्नो जिम्मेवारीमा पूर्ण असफल सावित भइसकेको छ । न जनतालाई कोरोना महामारीमा उचित सम्बोधन गर्न सक्यो न विकास निर्माण,शान्ति सुरक्षा र जनतालाई डेलिभरी दिन’–उनले भने, ‘उसो त, अहिले नेकपालाई अहिले जनताले दिएको करिब दुई तिहाई मतको बलियो सरकार टोक्नु न बोक्नु भएको छ । नेकपाभित्रको विवादले संसदलाई समेत विलखबन्दमा पारिएको छ ।’

त्यस्तै उनले कांग्रेसले नेकपाभित्रका विरोधीलाई तर्साउन फ्याँकेको सत्ता साझेदारीको कार्डमा कांग्रेस फस्न नहुने पनि बताए । ‘सरकारले गरेको कुशासन, भ्रष्टाचार र अनियमितताको भण्डाफोर गर्दै कांग्रेसले संगठन सुढिकरणमा ध्यान दिनुपर्छ । यो नै कांग्रेसको आजको मुख्य कार्यभार हो । कांग्रेसले सुसाइड गेम नखेलोस् । केन्द्रीय समिति बैठक बोलाई सटिक निर्णय लिनुपर्छ’ –नेता गिरीले भने ।