२०७७ माघ ६ गते मङ्गलवार
२०७७ माघ ६ गते मङ्गलवार

संक्रमित बढे पनि रोल्पामा आइसोलेसन केन्द्र हटाइयो

फाइल तस्वीर ।

जिल्लामा कोरोना संक्रमित बढिरहे पनि आइसोलेसन केन्द्र हटाइएको छ । संक्रमितलाई बेग्लै राख्ने र उपचारसमेत गर्ने गरी यसअघि ‘नमुना आइसोलेसन केन्द्र’ बनाइएको थियो । यो हटेपछि रोल्पा आइसोलेसन विहीन बनेको छ ।

एउटा नगरपालिका र ९ गाउँपालिकाको आर्थिक व्यवस्थापनमा सदरमुकामस्थित जलजला बहुमुखी क्याम्पसमा प्रदेशकै नमुना आइसोलेसन केन्द्र सञ्चालन गर्दै आएकामा प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको दबाबमा उक्त आइसोलेसन हटेको हो ।

करिब ३० लाख लगानीमा चिकित्सकसहित लिबाङमा प्रदेशकै नमुना आइसोलेसन केन्द्र चलाइएपछि करिब २ सयलाई सन्चो बनाई घर पठाइएको थियो । त्यसयता नयाँ स्थानमा आइसोलेसन निर्माण गरी संक्रमितलाई बेग्लै राख्ने निर्णय एवं पहल भए पनि पूरा भएन । गुरुङ गाउँस्थित सामुदायिक भवनलाई नयाँ आइसोलेसन केन्द्रका रूपमा चलाउने प्रयास सफल हुनेमा अनिश्चितता देखिएको छ ।

रोल्पामा कोरोना संक्रमणबाट हालसम्म करिब आधा दर्जनको मृत्यु भएको छ । अधिकांश संक्रमितको मृत्यु उपचार गर्दागर्दै भएको हो । गम्भीर प्रकारका लक्षण देखिएका बिरामीलाई अस्पतालको सिफारिसमा चिकित्सकले बाँके, दाङ, बुटवल र काठमाडौंका अस्पतालमा थप उपचारका लागि पठाउने गरेका छन् ।

-कान्तिपुरबाट ।