नेपाली क्रिकेट टिमको बन्द प्रशिक्षण बिहीबारदेखि सुरु भएको छ। कोरोना महामारीका कारण नेपाली टिमले नौ महिनापछि बन्द प्रशिक्षण सुरु गरेको हो।
नेपाली टिमले त्रिवि क्रिकेट मैदानमा अभ्यास सुरु गरेको हो। प्रशिक्षण सुरु गर्नुअघि नेपाली टिमको मंगलबार कोरोना भाइरसको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। बुधबार आएको नतिजाअनुसार कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, ब्याट्सम्यान रोहितकुमार पौडेल र स्टाफ प्रदीप लामालाई कोरोना संक्रमण भएको देखिएको थियो।
कोरोना संक्रमणको जोखिकाबीच अभ्यास सुरू गर्न लागेको नेपाल क्रिकेट संघ (क्यान) ले बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरूको स्वाब लिएको थियो।
बन्द प्रशिक्षणमा क्यानले ज्ञानेन्द्र मल्लको कप्तानीमा २२ खेलाडीलाई बोलाएको थियो। अब कोरोना संक्रमण भएका खेलाडी बन्द प्रशिक्षणमा सहभागी हुन पाउने छैनन्। तीन जना खेलाडीलाई कोरोना पुष्टि भएपछि क्यानले अनिल साह, कुशल भुर्तेल, रित गौतम, कुशल भुर्तेल र लोकेश बमलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ।
कोरोना भाइरसको महामारीमा बन्द प्रशिक्षण नौ महिना ढिला भएको हो। कोरोना भाईरस महामारीको कारण नेपालले ९ महिनापछि बन्द प्रशिक्षण हुन लागेको हो।
नेपालले विश्वकप लिग क्रिकेट दुईअन्तर्गत सन् २०२१ मा पाँच सिरिज खेल्ने तालिका रहेको छ। त्यसैको तयारीका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको हो।