२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

दाङमा १५ शैयाका ६ वटा अस्पताल बन्दै

आधारभूत स्वास्थ्य सेवा जनताको पहुँचमा पुर्याउने उद्देश्यले जिल्लाका ६ वटा स्थानीय तहमा १५ शैयाका अस्पताल निर्माण हुने भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमवार देशभर एकै दिन ३ सय ९३ वटा १५ शैयाको अस्पताल शिलान्यास गर्ने कार्यक्रमअन्तर्गत जिल्लाका स्थानीय तहमा अस्पतालको शिलान्यास गरिएको हो ।

दाङको राप्ती गाउँपालिकाको सिसहनियाँ, दंगीशरण गाउँपालिकामा बागर, बबई गाउँपालिकाको हंशपुर, शान्तिनगर गाउँपालिकाको सिमसुन्दरपुर र बंगलाचुली गाउँपालिकाको कमिरेचौरमा अस्पताल बन्ने स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले बताए ।

त्यसै गरेर घोराही उपमहानगरपालिका–४ को भकारेमा शनिवार नै अस्पतालको शिलान्यास गरिएको थियो । ‘संघीय सरकारको देशभर ३ सय ९६ अस्पतालहरु शिलन्यास गर्ने कार्यक्रमअन्तर्गत दाङका ६ पालिकामा ६ वटा अस्पतालहरु शिलान्यास गर्ने कार्यक्रम रहेको थियो’, कार्यालय प्रमुख शाहीले भने– ‘तर घोराहीमा यसअघि नै अस्पतालको शिलान्यास भैसकेको छ ।’ घोराही उपमहानगरपालिका–४ भकारेमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले गत शनिवार अस्पतालको शिलान्यास गरेका थिए ।

दुई बर्षभित्र अस्पतालको भौतिक संरचना निर्माणको काम सक्ने गरी निर्माणको काम अघि बढाउनका लागि सरकारले हरेक स्थानीय तहहरुलाई रकम समेत पठाइरहेको छ । त्यही अनुसार अस्पतालको जग्गा छनोटसँगै डिपिआर, नक्सालगायतको काम गरेर अस्पाल निर्माण गर्ने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ बन्ने सबै अस्पतालहरु एउटै डिजाइनका हुनेछन् ।

अस्पतालहरु दुई वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य छ । अस्पताल निर्माणका लागि यो वर्ष ६ अर्ब १२ करोड २६ लाख रुपैयाँ बजेट निकासा गरिसकिएको छ । १५ शैयाको अस्पतालहरुमा तीन मेडिकल अफिसरसहित २७ स्वास्थ्यकर्मीको व्यवस्था गर्ने सरकारको योजना छ ।

सरकारको नीति तथा कार्यक्रममा सबै स्थानीय तहहरुमा ५ देखि १५ शैयाका अस्पताल बनाउने योजना रहेको छ । हाल कुल ७ सय ५३ स्थानीय तहहरुमध्ये १ सय ४ वटामात्र मात्रै बिभिन्न तहका अस्पताल छन् ।