कोरोना जोखीमका बाबजुत हालै सम्पन्न कक्षा १२ को परीक्षा दिएका विद्यार्थीले अबको ठीक एक महिनाभित्र नतिजा पाउने भएका छन् । विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने गरी एक महिनाभित्र विद्यार्थीको हातमा नतिजा उपलब्ध गराइने भएको हो ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले विद्यार्थीको नतिजा महिना दिनभित्र दिने गरी तयारी थालिएको जानकारी दिए। यसबाट विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि बाटो खुल्ने भएको हो । यसका लागि देशभरका शिक्षकहरूसित समन्वयमा काम भइरहेको जनाइएको छ ।
परीक्षा बोर्डले एक साताभित्र उत्तरपुस्तिकाको परीक्षण पूरा गर्ने तयारी गरेको छ । कतिपय विषयको उत्तरपुस्तिका परीक्षण सुरु भइसकेको छ । विद्यालयमा सम्बद्ध विषयको शिक्षकले नै यसपटक विद्यार्थीको उत्तरपुस्तिका परीक्षण गर्ने भएकोले एक साताभित्र यो काम पूरा हुने विश्वास गरिएको अध्यक्ष पौडेलले बताए । यसपटक कोरोनाका कारण सबै विद्यार्थीलाई आफूले नै अध्ययन गरेको विद्यालयमा परीक्षा दिने अवसर बोर्डले उपलब्ध गराएको थियो ।