२०८१ माघ ७ गते सोमवार
२०८१ माघ ७ गते सोमवार

दाङमा अन्य मुद्दा भन्दा जबर्जस्ती करणीका कैदीबन्दी धेरै

दाङका दुई कारागारमा अन्य मुद्दाको तुलनामा जबर्जस्ती करणी मुद्दामा सजाय भोगिरहेका धेरै छन्। बढ्दो जबर्जस्ती करणीका घटनासँगै सजायका लागि कारागार पुग्ने कैदीबन्दीको संख्या अन्य मुद्दाको तुलनामा निकै धेरै रहेको तथ्यांकले देखाएको छ।

२०७५ साल भदौ १ गतेदेखि लागु भएको मुलुकी फौजदारी संहिता ऐनको कार्यान्वयन पछि जबर्जस्ती करणी र बहुविवाहका मुद्दामा सजाय बढेको छ। घोराही कारागार र तुलसीपुर कारागारमा गरी जबर्जस्ती करणी मुद्दामा अहिले दुई सय ४१ जना कैदीबन्दीले जेल जीवन बिताइरहेका छन्। त्यसपछि कर्तव्य ज्यानका दुई सय २१ जना, लागूऔषधका एक सय २१ जना, अपहरणका १४, बहुविवाहका चारजना कारागारमा छन्।

घोराही कारगारका जेलर विष्णुप्रसाद पाण्डेयका अनुसार जबर्जस्ती करणी मुद्दामा ९२ जना, कर्तव्य ज्यानका ७२, लागूऔषधका ४३, सवारी ज्यानका १४, चोरीका १३, डाँका चोरीका चार, जबर्जस्ती करणी उद्योगका १२ र बहुविवाहका तीनजना कैदीबन्दी छन्। घोराही कारागारमा एक सय ५१ जना कैदी र एक सय २२ जना बन्दी रहेका पाण्डेयको भनाइ छ।

उता तुलसीपुर कारागारमा जबर्जस्ती करणीका एक सय ४९ जना, कर्तव्य ज्यानका एक सय ३९ जना, लागूऔषध मुद्दाका ७८ जना, डाँका चोरीका चार, चोरीका आठ, ज्यान मार्ने उद्योगका छजना र अपहरणमा मुद्दाका १४ जना कैदीबन्दी रहेको जेलर युवराज परियारले जानकारी दिनुभयो।

-नयाँ युगबोधबाट