रसुवामा निर्माण भइरहेको १११ मेगावट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको इलेक्ट्रोमेकानिकलको काम ९ महिनादेखि बन्द भएको छ ।
कोरोना भाइरसको प्रभावले आफ्नो देश फर्किएका भारतीय कामदार नआएपछि काम अहिलेसम्म सुरु हुन सकेको छैन । भोइठ हाइड्रो इन्डियाले इलेक्ट्रोमेकानिकल निर्माणको जिम्मेवारी पाएको थियो । सरकारले नेपालमा गएको चैत ११ गतेदेखि लकडाउन गर्ने घोषणा गरेपछि भारतीय कामदार चैत ८ गतेदेखि आफ्नो देश फर्किएका थिए ।
इलेक्ट्रोमेकानिकल निर्माणका लागि निर्माणस्थलमा सामग्री आइसकेको छ । तर ठेकेदारले कामदार ल्याएका छैनन् । जसका कारण इलेक्ट्रोमेकानिकल निर्माणको काम अघि बढ्न सकेको छैन । कामदारको अभावमा निर्माण कार्य प्रभावित भएको आयोजना प्रमुख छवि गैरेले बताउनुभयो ।
आयोजनामा २ सय ५० नेपाली र ५९ चिनियाँ कामदार रहेका छन् । आयोजनामा काम गर्नका लागि जनशक्ति कम हुँदै जाँदा अरु कामहरु पनि प्रभावित हुँदै आएको छ । २०७० सालको माघदेखि निर्माण सुरु भएको आयोजनाको झण्डै ७८ प्रतिशत काम सकिएको छ ।