२०७७ माघ १५ गते बिहिवार
२०७७ माघ १५ गते बिहिवार

‘सामाजिक सञ्जाल’

नेपालम ईन्टरनेट भनेको नै सोसियल मिडिया मात्र हो जस्तो गरी फेसबुक, टुइटर, इन्स्टाग्राम, टिकटक, म्यसेन्जर, इमो, ह्वाटस्एप जस्ता सोसियल मिडिया एपको बढि भन्दा बढि प्रयोग भइरहेको छ ।

हुन त यि एपहरुको प्रयोगबाट नै अहिले विश्वका जुनसुकै कुनाका सुचना जो जहाँ रहे पनि एक सेकेण्डमै प्राप्त गर्न पनि सकिएको छ । यो सकारात्मक कुरा हो, किनभने अहिले यो लेख पनि तपाई यिनै सोसियल मिडिया मार्फत पढीरहनु भएको हुन सक्छ । तर नेट इन्टरनेटका हजारौं फाइदा हुँदा हुँदै पनि यसका बेफाइदा अर्थात यसको गलत प्रयोगले तेतिकै रुपमा बेफाइदा पनि पुराइरहेको छ ।

आयआर्जन राम्रो भएको परिवारले पनि इन्टरनेटलाई शैक्षिक, व्यापारिक र रोजगारीका लागि नभएर फेसबुक र मनोरञ्जनकै लागि बढी प्रयोग गरिरहेको केही अध्ययनहरूले देखाएको छ । यसको पछाडि नेपालको इन्टरनेटको गुणस्तर, सूचना प्रविधिसम्बन्धी नीति निर्देशिका, प्रयोगकर्ताको सामाजिक सन्दर्भ र इन्टरनेटबारे आमधारणा कारण हुन सक्छन् ।

अहिले मानिसहरु सामाजिक कार्यमा सहभागी हुने जमघट गर्ने एक आपसमा शुभकामना दिने भन्दा पनि सोसियल मिडियाबाट नै शुभकामना दिने र एक्ला एक्लै बस्ने चलन बढेको छ । अहिले त झन यो कोरोनाका कारण पनि मानिसहरुको जमघट घटेको छ तर यो सामाजिक सञ्जालले गर्दा मान्छेहरु एक आपसमा भेटेर सुख दुःख बाँड्न छोडेर सामाजिक सञ्जालमा नै ब्यस्त भैइरहेका थिए र अहिले त झन बढेको छ ।

घरपरिवारबीचको सम्बन्ध पनि खुकुलो हुँदै गएको छ । मान्छेहरु बढी व्यक्तिकृत र कम एकीकृत हुँदै छन् । परिवारका सदस्यबीच रमाउनुको साटो सामाजिक सञ्जाल ‘फेसबुक, इन्स्टाग्राम, भाइबर, मेसेन्जर, युट्युब, इमो आदिमा रमाउँछौँ । सानो बच्चा संगको आमा होस् या खाना पकाइरहँदा, या परिवार बसेर खाना खादा होस् अनि परिवारका सबै सदस्यसँगै बसेर टिभी हेर्दा होस् प्रत्यकको ध्यान हातको मोबाइलमा हुन्छ । कसैलाई कसैसँग बोल्ने फुर्सद समेत हुँदैन । पहिले पहिले सबै परिवार बसेर खाना खाइसकेपछि आजको दिनको समिक्षा र भोलीका लागी केहि प्लानिङ संगसंगै पारिवारिक सुख दुःख बाडिन्थ्यो । तर अहिले भावनात्मक दूरी बढ्दो छ । विश्वसँग सम्बन्ध जोड्यौँ, तर आफ्नैलाई बिर्सियौँ ।

समाजका प्रायः सबै मानिस सामाजिक सञ्जालको लतमा भएका छन् । विशेष युवा पुस्ता यो लतबाट ग्रसित छ । सामाजिक सञ्जालले मानिसलाई असामाजिक बनाउँदै छ । वास्तविक सम्बन्धहरू भत्काउँदै छ । सीमित दायराभित्र मानिसलाई खुम्च्याउँदै लगेको छ । यहि सामाजिक सञ्जालकै कारण स साना कुरामा आफ्ना आफन्तसंगको मिठो सम्बन्ध पनि क्षणभरमै तितो बनाइदिएको छ ।

साथी वा आफन्तकोमा जाँदा सबैभन्दा पहिले सन्चोबिसन्चो होइन, वाइफाईको पासवर्ड सोधिन्छ । कतै घुम्न जाँदा होस् वा फर्केर आउँदा आफ्नो घरमा पाकेको मिठो खानाको कुनै वास्ता हुँदैन बरु उल्टै फोटोहरू सामाजिक सञ्जालमा पोस्ट गर्ने हतार हुने गर्छ । खानेकुराको फोटोदेखि सेल्फीसम्म, शुभकामनादेखि श्रद्धाञ्जलीसम्म सामाजिक सञ्जालमा पोस्ट गछौँ । फेरी साथी भाइ होस या प्रेमि प्रमिका कुनै उत्सबमा भेटेरै शुभकामना दिएर पनि पुग्दैन सामाजिक सञ्जालमा पोस्ट गरे मात्र खुसि हुने चलन बढेको छ । हामी लाइक, कमेन्ट, सेयरहरू गनेर बस्छौँ । यतिसम्म कि हामी आफू को हौँ भन्ने बिर्सन्छौँ र आफूलाई अरूको नजरबाट हेर्न र बुझ्न खोज्छौँ । अरुले राम्रो भने या भनेन भनेर हेर्छौ किनकि म राम्रो छु म अरु भन्दा फरक छु भनेर हामिले आफूलाई आफ्नो आँखाले हेनैे बिर्सिसक्यौं । अरुले राम्रो भन्दिए खुसि हुने अनि नराम्रो भने भने दुख मान्ने गर्छौ ।

गेममा रमाउने बालबालिका, किशोरकिशोरी र युवापुस्ताको संख्या ह्वातै बढेको छ । गेममा मस्त उनीहरू सामाजिक परिघटनाबाट बेखबर छन् । उनिहरुलाइ बाह्य दुनियाँको कुनै चासो नै हुँदैन । समाजमा के भइरहेको छ उनीहरूलाई मतलब छैन । यति सम्म कि कसैले त आफ्नै परिवारमा के भैराछ भन्ने पनि थाहा हुँदैन । समाजबाट कटेको यो पुस्ता असामाजिक बन्दै छ । जसले हाम्रो सामाजिकीकरणको प्रक्रियालाई नै चुनौती दिएको छ । हाम्रो जीवनशैली, व्यवहार, सोच्ने तरिका र अन् अन्तरक्रीयाको प्रणालीलाई नै चुनौती दिइरहेको छ । तेसैगरी फ्रान्सका स्नायुवैज्ञानिक मिशेल डेस्म्युजे भन्छन्, अहिले हामीले बालबालिकासँग जे गरिरहेका छौँ त्यो कुनै किसिमले पनि क्षम्य छैन ।

मानिसहरूले बालबालिकाको भविष्य खतरामा पारिदिएको उनको दाबि छ । डेस्म्युजेले आफ्नो पुस्तक ‘द डिजिटल क्रेटिन फ्याक्ट्री मा डिजिटल प्रविधिलाई मूर्ख उत्पादन गर्ने उद्योगसँग तुलना गर्दै त्यस्तो दाबी गरेका छन् । यो पुस्तकले ‘डिजिटल नेटिभ्स’ अर्थात् इन्टरनेट लोकप्रिय भइसकेपछि जन्मिएका बालबालिकाको आईक्यू बौद्धिक स्तरको मान र तिनका आमाबुवाभन्दा कम रहेको तर्क गरेको छ । विद्युतीय प्रविधि आउनुअघि प्रत्येक नयाँ पुस्ता अघिल्लो पुस्ताभन्दा बाठो भएको तर अहिले विद्युतीय प्रविधि पछि तेसको उल्टो भएको डेस्म्युजेको तर्क छ । कसैलाई पनि प्रबिधिबाट अलग गर्नु भन्दा तेसको सहि प्रयोग सिकाउनु आबश्यक छ ।

सामाजिक सञ्जालले सामाजिक मुद्दाहरूलाई पनि प्रभाव पार्छ । सामाजिक सञ्जाल सामाजिक काम गर्ने थलो पनि बनिरहेको छ, जुन नराम्रो होइन । तर, हामी सामाजिक कामको नाममा लाइक, कमेन्ट र सेयरको बटन थिच्नमा केन्द्रित छौँ । हाम्रा अभियान एक लाइक ठोकेपछि पूरा भयो भन्ठान्छौँ । पीडितलाई सहयोग गरेजस्तो गर्छौँ अनि फेसबुकमा प्रचार गर्न थाल्छौँ । मानवीय संवेदना र गोपनियताको ख्यालै नगरी अर्काको पीडालाई दुनियाँभर फिँजाउने प्रवृत्ति बढेको छ । कुनै दुर्घटना भएको ठाउँमा सहयोग गर्ने हातभन्दा सेल्फी खिच्ने र भिडियो बनाउने हात धेरै देखिन्छन् । अहिले त झन हजारौंको संख्यामा खुलेका युटुब अकाउन्ट हरुले सुचना प्रबाहको नाममा कसैका ब्यक्तिगत गोपनियताका कुरा, कसैका हुदै नभएका मिथ्या समाचार बनाउने र पैसा कमाउने नाममा समाजलाई भ्रममित बनाई झुटलाई सय पटक सहि भनेर सत्य साबित गर्ने होड चलिरहेको छ ।

यो विश्वव्यापी समस्या हो । विकसित मुलुकहरू सामाजिक सञ्जालको सम्भावित असरहरूबारे सचेत भइसकेका छन्, तर विकासोन्मुख मुलुकहरूमा यसको संक्रमण बढ्दै गएको छ । प्रविधि आफैँमा समस्या होइन, समस्या हामी आफैँ हौँ । हामी बिस्तारै यसको लतबाट लट्ठिँदै छौँ । प्रविधिको सही सदुपयोगभन्दा दुरुपयोग बढी गरिरहेका छौँ । सामाजिक सञ्जालभित्रका गसिप र ट्रेन्डिङको पछिपछि कुद्दाकुद्दै आफूभित्रको सिर्जनशीलताको चाहिँ आफैले हत्या गरिरहेका छौँ । सामाजिक सञ्जालमा जे चल्यो त्यो मात्र नभएर अन्य नचलेका तर समाजलाई काम लाग्ने खालका बिषय बस्तुहरु पनि हुने गर्दछन । तर हामी कसैले तेरो कान कागले लग्यो भन्दा कागको पछि दौडि रह्यौं आफ्नो कान कहिलै छाम्ने कोसिस नै गरेनौं जसले गर्दा हामि सामजिक, भावनात्क र पारिवारीक बन्न सकेनौं ।

कोरोनाअघि सामाजिक सञ्जालको जसरी प्रयोग हुँदै आए पनि कोरोनामा भने यसको ट्रेन्डमा केही परिवर्तन आएको छ । विशेष गरी भर्चुअल मिटिङ, संवाद, अन्तक्रीया, कक्षा, आन्दोलनका कार्यक्रम बनाउने जस्ता काम बढिरहेका छन् । यसले इन्टरनेट र सामाजिक सञ्जालको उचित प्रयोग र महत्व ह्वात्तै बढाइदिएको छ । तर अहिले धेरै मानिस घरमा बसिरहदा वा फूर्सद मिल्दा इन्टरनेट एडिक्सन झन बढ्ने देखिन्छ त्यसैले इन्टरनेटको सही सदुपयोग गरौँ घर परिवार र समाजसंग भर्चुअलि हैन भवनात्मक सम्बन्ध बनाउँ । युवापुस्ता समाज बुझ्न सामाजिक सञ्जालमा होइन, समाजमै जाउँ ।

भानुभक्त के.सी.
दाङ, नेपाल
(हाल युएई)