२०८१ माघ १३ गते आइतवार
२०८१ माघ १३ गते आइतवार

यी हुन् कांग्रेसको विरोधसभामा तोकिएका दश नारा

फाइल तस्वीर ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार देशैभर हुने सरकार विरोध प्रर्दशनमा तोकिएको नारा मात्रै लगाउन कार्यकर्तालाई निर्देशन दिएको छ।

पार्टीको केन्द्रीय कार्यालय सानेपाबाट दसवटा नारा तय गर्दै गरेर देशैभर सर्कुलर गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

केन्द्रले तोकेको नारासहित जिल्ला समितिले आवश्यकता अनुसार थप नारा तय गर्न सक्ने र त्यहीभित्र रहेर मात्रै सरकारविरुद्ध नाराबाजी गर्न निर्देशन गरिएको छ।

पार्टी कार्यालयबाट मुख्य सचिव पौडेलले जारी गरेको सूचनामा भनिएको छ, ‘स्थानीय आवश्यकता अनुरुप जिल्ला समितिले अन्य नारा तोक्नेछ। ब्यानर, प्ले कार्ड, एवं प्रर्दशन र सभामा निर्धारित नाराहरु मात्रै प्रयोग गर्न सहभागीहरुलाई अनिवार्य रुपले पूर्वसूचना गर्नु गराउनु हुन आग्रह गर्दछु।’

यही मंसिर १७ गते पुल उद्घाटनका लागि गृह जिल्ला तनहुँ पुगेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरेको र कार्यकर्तामाथि बल प्रयोग गरेको विरोधमा कांग्रेसले देश व्यापी प्रर्दशन गर्न लागेको हो।

वरिष्ठ नेतामाथि भएको दुर्व्यवहारसँगै कांग्रेसले सरकारको कार्यशैली, कोरोना नियन्त्रणमा सरकारले देखाएको उदासीनता, भ्रष्टाचार जस्ता विषयलाई पनि उठान गर्ने भएको छ। सरकारविरुद्ध सडकमा उत्रनका लागि कांग्रेसले देशैभर तयारी तीव्र पारेको छ।

यस्ता छन् केन्द्रले तय गरेका दस नारा

१. संघीय, लोकतान्त्रिक, गणतन्त्र नेपाल, जिन्दावाद जिन्दावाद
२. नेपाली कांग्रेस जिन्दावाद जिन्दावाद
३. सर्वसत्तावादी ओली सरकार, मुर्दावाद मुर्दावाद
४. तनहुँमा भएको दुव्र्यवहार, अपमान र अत्याचार
५. बढ्यो महिला हिंसा र बलात्कार, अकर्मण्य भो ओली सरकार
६. चारैतिर भ्रष्टाचार जनताले चिन्यो ओली सरकार
७. अति भो अति भो, मुलुककै छवि क्षति भो
८. जनता कोरोनाको मारमा, नेकपा सत्ताको जितहारमा
९. औषधि छैन, मल छैन, सत्ताको लडाई लाज छैन
१०. नेपाली काग्रेस जिन्दाबाद, लोकतान्त्रिक समाजवाद जिन्दावाद

कांग्रेसले विरोधसभालाई सम्बोधन गर्न केन्द्रीय स्तरका नेताहरु जिल्ला जिल्लामा पुग्ने कार्यक्रम पनि बनाएको छ जसअनुसार सभापति शेरबहादुर देउवाले बागमती प्रदेशको राजधानी हेटौंडामा हुने कार्यक्रममा सहभागी हुनेछन्।

वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौँमा, उपसभापति विमलेन्द्र निधिले भक्तपुर, महामन्त्री शशांक कोइरालाले मोरङ, कोषाअध्यक्ष सीतादेवि यादवले ललितपुरमा हुने विरोधसभालाई सम्बोधन गर्ने छन्।

नेता प्रकाशमान सिंह धनुषामा आयोजना हुने विरोधसभामा सहभागी हुनेछन्।

-देशसञ्चारबाट