२०८१ माघ ७ गते सोमवार
२०८१ माघ ७ गते सोमवार

ओली समूहबाट दाङबाट १८ जना केन्द्रीय सदस्य मनोनित

प्रधानमन्त्री एवं सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले मंगलबार राष्ट्रियसभा सदस्य कोमल वलीसहित दाङका १८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन्।

बालुवाटारमा बसेको ओली समूहको भेलाले तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डे र जिल्ला समन्वय समितिका संयोजक जितेन्द्रमान नेपालीलाई पनि केन्द्रीय कमिटीको सदस्यमा मनोनित गरेको छ।

उक्त भेलाले प्रदेशसभा सदस्यहरू रेवतिरमन शर्मा, अम्मर डाँगीलाई पनि केन्द्रीय सदस्य बनाएको छ। त्यस्तै, निवर्तमान प्रतिनिधिसभा सदस्य टोपेन्द्र केसी, दाङका संस्थापक कम्युनिष्ट नेताहरू शोभाराम बस्नेत, छविलाल वली, गिरिराज केसीलाई पनि केन्द्रीय सदस्य बनाएको छ। त्यस्तै, सरस्वती गौतम, विष्णु पौडेल, मेनका पोखरेल, शारदा स्वर्णकार, राममणि नेपाली, ध्रुव आचार्य, तुलसा केसीलाई पनि केन्द्रीय सदस्य बनाएको छ।

नेकपा दाङका अध्यक्ष टीकाराम खड्का र प्रदेश कमिटी सदस्य मिलन चौधरीलाई पनि ओली समूहबाट केन्द्रीय सदस्य बनाइएको छ। यसअघिसम्म खड्का वरिष्ठ नेता माधव कुमार निकटका मानिन्थे। उनी विशेषगरी उपाध्यक्ष वामदेव गौतमसँग घनिष्ट सम्बन्ध राख्ने नेता हुन्। त्यस्तै, यसअघिसम्म चौधरी प्रचण्ड निकटका नेता हुन्। खड्का र चौधरीको प्रतिक्रिया लिने प्रयास सम्भव भएन।

ओली समूह बैठकले पछि १९७ थप गर्ने गरी साविकको ४४६ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना नयाँ सदस्य थपेर १ हजार १ सय ९९ सदस्यीय विस्तार गरेको छ।