नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको घटनालाई लिएर पार्टीभित्र कुनै विवाद देखा नपरेको बताएका छन्।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्नुलाई कांग्रेसले असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादतर्फ उन्मुख रहेको निष्कर्ष निकालेको भन्दै उनले यसबारेमा पार्टीभित्र विवाद नरहेको बताए।
प्रधानमन्त्रीको कमदविरूद्ध तत्काल आन्दोलनमा जाने कि सर्वोच्चको आदेशपछि भन्नेमा जारी केन्द्रीय समितिमा मतभेद देखिएका खबर बाहिर आएका थिए।
त्यसतर्फ संकेत गर्दै प्रवक्ता शर्माले पत्रकारहरूसँग भने, ‘प्रतिनिधिसभा विघटनलाई हेर्ने सन्दर्भमा कांग्रेसभित्र एउटै दृष्टिकोण छ। यो असंवैधानिक छ। सर्वसत्तावादतर्फ उन्मुख छ। यो कदमको विरूद्ध कांग्रेस उभिएको छ।’
उनले पार्टीका तर्फबाट गत सोमबार सर्वदलीय बैठक राखेर अन्य दलकोसमेत धारणा लिइएको बताएका छन्। गत आइतबार प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा भंग गरेका थिए।
शर्माका अनुसार सोमबार १६५ निर्वाचन क्षेत्रबाट प्रधानमन्त्रीको कदमविरूद्ध प्रदर्शन गर्ने निर्णय पार्टीले गरिसकेको छ।