२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

कोभिड सूचीबाट हटाइए निजी अस्पताल

फाइल तस्वीर ।

सरकारले कोभिड–१९ बिरामीका लागि शय्या, आईसीयू, भेन्टिलेटर अभाव नभएको भन्दै निजी अस्पताललाई कोभिड अस्पतालको सूचीबाट हटाएको छ । अब सरकारी अस्पताल र प्रयोगशालामा मात्रै कोभिडको निःशुल्क उपचार र परीक्षण गरिनेछ । निजीअन्तर्गतका मेडिकल कलेजमा भने कोभिडको उपचार हुनेछ ।

‘हाललाई सरकारी अस्पतालमै कोभिड बिरामीका लागि जनरल बेड, आईसीयू र भेन्टिलेटर पर्याप्त उपलब्ध रहेकाले थप आवश्यक नभएसम्म निजी अस्पतालबाट दिइने निःशुल्क कोभिड उपचार परीक्षण सेवा स्थगन गरिएको छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने ।

उनका अनुसार आगामी दिनमा आवश्यक देखिए पुनः निजी अस्पतालहरूलाई निःशुल्क कोभिड उपचार केन्द्रका रूपमा परिणत गर्न सकिनेछ ।

हाल कोभिड उपचारकै लागि देशभर १ हजार १ सय ४६ आईसीयू शय्या र ४ सय ६१ भेन्टिलेटर छ । प्रदेश १ मा १ सय १० आईसीयू र ४० भेन्टिलेटर, प्रदेश २ मा ४८ आईसीयू र २० भेन्टिलेटर, वाग्मतीमा ५ सय ५३ आईसीयू र २ सय ५५ भेन्टिलेटर, गण्डकीमा २ सय ३२ आईसीयू र ६८ भेन्टिलेटर, लुम्बिनीमा १ सय १४ आईसीयू र २७ भेन्टिलेटर, कर्णालीमा ६२ आईसीयू र २७ भेन्टिलेटर तथा सुदूरपश्चिममा २७ आईसीयू र २३ भेन्टिलेटर छन् ।

देशभरमा कोभिडले आइतबार ६ जनाको मृत्यु भएको छ भने ३ हजार ८ सय २८ वटा नमुनाको पीसीआर परीक्षण गर्दा ४ सय ८१ जना (१२.५६ प्रतिशत) मा पोजिटिभ देखिएको छ ।

देशभरिमा हालसम्म २ लाख ५८ हजार १ सय ८१ जनामा कोभिड संक्रमण देखिएकामा १ हजार ८ सय २५ जना अर्थात् ०.७ प्रतिशतको मृत्यु भएको छ । कोभिड पोजिटिभ देखिएकामध्ये २ लाख ४९ हजार ८ सय ६३ जना निको भएको जनाएको छ । सरकारको दाबीअनुसार कोभिड निको भएको दर ९६.८ प्रतिशत छ ।

-कान्तिपुरबाट