२०८१ माघ ७ गते सोमवार
२०८१ माघ ७ गते सोमवार

आफ्नै श्रीमानको हत्या गरी श्रीमती प्रहरी कार्यालयमा

सांकेतिक तस्वीर ।

रुकुम पश्चिममा एक महिलाले आफ्नै श्रीमानको हत्या गरी आफैं प्रहरीमा पुगेकी छिन्।

आइतबार बेलुका उनी ‘मैंले श्रीमानको हत्या गरेँ’ भन्दै प्रहरीमा पुगेकी थिइन्।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार उनी चक्कुसहित प्रहरी कार्यालय पुगेकी हुन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीका अनुसार मुसीकोट नगरपालिका–८, किटनीकी ५० वर्षीया डल्ली बुढा आइतबार बेलुका जिल्ला प्रहरी कार्यालय पुगेकी थिइन्।

उनी प्रहरी कार्यालयमा पुगेलगत्तै घटनास्थलतर्फ गएको प्रहरी टोलीले उनका श्रीमान चित्रबहादुर थापाको शव घरमा भेट्टाएको थियो। घटना आइतबार बिहान ४ बजेतिर भएको भए पनि मुचुल्का उठाएर सदरमुकाम ल्याउन राति ९ बजेको जिल्ला प्रहरी कार्यालयले जनायो।

प्रहरीका अनुसार डल्ली चित्रबहादुरकी कान्छी श्रीमती हुन्। बिहान उठेपछि दुबै जनाबीच विवाद सुरू भएको र विवाद बढ्दै जाँदा श्रीमतीले चक्कु प्रहार गरेको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको डिएसपी केसीले बताए।

उनलाई हिरासतमा राखेर थप अनुसन्धान बढाइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

-सेतोपाटीबाट