प्रतिनिधिसभा विघटन भएको र यसबारेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा आजदेखि राष्ट्रियसभाको हिउँदे अधिवेशन सुरु हुँदैछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा आज दिउँसो ४ बजे राष्ट्रियसभाको बैठक बस्न लागेको हो । नेकपाको प्रचण्ड–नेपाल समूह तथा प्रमुख प्रतिपक्ष कांग्रेसलगायतका विपक्षी दलले प्रतिनिधिसभा विघटनको विषयलाई राष्ट्रियसभाको बैठकमा उठाउने तयारी गरेका छन् । तर राष्ट्रियसभामा प्रतिनिधिसभा विघटनको विषयमा कुरा उठाउन मिल्ने कि नमिल्ने भन्ने बहस पनि चलिरहेको छ ।
आज पहिलो दिनको बैठकमा पेस हुने सम्भावित कार्यसूची तयार भएको छ । संसद् सचिवालयका अनुसार बैठकको सुरुमै अधिवेशन आह्वान र मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाइने छ । यस्तै राष्ट्रियसभाका समिति गठनसम्बन्धी आदेश, २०७७ सभाबाट अनुमोदनका लागि पेस हुने कार्यसूची छ ।