नेपाली कांग्रेसले संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन सरकारसँग माग गरेको छ।
संविधानको मर्म र प्रावधानविपरीत प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएकोले फिर्ता लिनुपर्ने कांग्रेसको माग छ।
आज राष्ट्रिय सभामा कांग्रेस सांसद जितेन्द्रनारायण देवले दलका तर्फबाट बोल्दै उक्त अध्यादेश फिर्ता लिन माग गरेका छन्।
‘संवैधानिक परिषदसम्बन्धी अध्यादेश संविधानको मर्म र प्रावधानको खिलापमा छ। अध्यादेश फिर्ता लिन म कांग्रेस संसदीय दलको तर्फबाट माग गर्दछु,’ उनले भने।
हालै प्रधानमन्त्री ओलीले तीन जना मात्रै भए पनि संवैधानिक परिषदसम्बन्धी बैठक बस्न र निर्णय गर्न मिल्ने गरी अध्यादेश ल्याएका थिए।
उक्त अध्यादेशपछि विभिन्न संवैधानिक निकायमा सरकारले नियुक्ति गरेको छ।