पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम बद्ली भएको छ । धेरैजसो हिमाली जिल्लामा हिमपात भएको छ । दार्चुला, मुगु, हुम्ला, जिरीलगायतका ठाउँमा हिमपात भइरहेको मौसमविद्ले बताएका छन् ।
दार्चुलाको व्यास, अपी हिमाल, नौगाड, दुहुँ र मार्मा गाउँपालिकाको उच्च भू–भागमा हिमपात भएको छ ।
यस्तै, हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा हिजो बिहानदेखि नै हिमपात हुँदा घरबाहिर निस्कनसमेत कठिनाइ भएको छ ।
हिमपातका कारण चिसो बढेपछि बाहिर निस्कन र दैनिक कामकाज गर्न समेत नसकेको हिल्सा सीमा सुरक्षामा खटिएका हिल्सा बीओपीका इन्चार्ज सुरज केसीले जानकारी दिनुभयो।हिमपातका कारण दार्चुलाको सञ्चार सेवा समेत बन्द भएको छ ।
घाम नलाग्दा सौर्य उर्जाबाट सञ्चालित टावरमा ब्याट्री चार्ज हुन नपाउँदा टेलिफोन र इन्टरनेट सेवा बन्द भएको नेपाल टेलिकम दार्चुलाले जनाएको छ ।