२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

भारतले कोरोना विरूद्धको खोप निर्यात नगर्ने

भारतले कोरोना भाइरसविरूद्धको खोप केही महिनासम्म निर्यात नगर्ने भएको छ। अक्सफोर्ड र अष्ट्राजेन्काले बनाएको खोप उत्पादन गर्ने अनुमति पाएको सेरम इन्स्टिच्युट अफ इन्डियाका प्रमुखले अझै केही महिना खोप भारतबाहिर नपठाउने बताएका छन्।

सेरम संसारकै ठूलो खोप उत्पादक कम्पनी हो। उसले गरिब मुलुकका लागि १ अर्ब डोज खोप उत्पादन गर्ने सम्झौता गरेको छ।

समाचार संस्था एपीसँग कुरा गर्दै सेरमका सिइओ आदर पुनावालाले भारत सरकारले तत्काल खोप बाहिरी मुलुकमा नपठाउने सर्त आइतबार खोपलाई अनुमति स्वीकृति दिएको बताए। उनका अनुसार सेरमले खोप तत्काल निजी बजारलाई पनि बेच्ने छैन।

भारत सरकारको यस्तो निर्णयले गरिब मुलुकहरूलाई खोप दिलाउने विश्व स्वास्थ्य संगठनको कार्यक्रम कोभ्याक्सलाई असर पर्ने भएको छ। नेपालले खोप लगाउन आवश्यक जनसंख्याको २० प्रतिशतलाई पुग्ने गरी कोभ्याक्सबाट खोप ल्याउने तयारी गरिरहेको छ।

सेरमले भारत सरकारलाई प्रति डोज २०० भारूका दरले १० करोड डोज खोप दिन लागेको छ।

यसअघि भारतले आइतबार कोरोनाविरूद्धका दुई खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो।

सिरम इन्स्चिट्युड अफ इन्डियाको ‘कोभिसिल्ड’ र भारत बायोटेकको ‘कोभ्याक्सिन’ खोपलाई अनुमति दिएको हो।

सिरमले अक्सफोर्ड विश्वाविद्यालय र अस्ट्राजेन्काले बनाएको भ्याक्सिनलाई भारतमा कोभिसिल्ड नाममा उत्पादन गर्न लागेको हो। गत सातामात्र बेलायतले पनि सोही खोपलाई आम प्रयोगका लागि अनुमति दिएको थियो।

केही समयअघि सार्वजनिक भएका विवरणहरूले कोरोनाविरूद्ध यो खोपको प्रभावकारिता ७०.४ प्रतिशत रहेको बताएका थिए।