२०८१ माघ १३ गते आइतवार
२०८१ माघ १३ गते आइतवार

माघभित्र क्रियाशील सदस्यता टुंग्याउन कांग्रेसको निर्देशन

नेपाली कांग्रेसले माघ मसान्तभित्र क्रियाशील सदस्यता टुंग्याउन निर्देशन दिएको छ।

आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकले माघ मसान्तभित्र सबै जिल्लाले क्रियाशील सदस्यता नवीकरण तथा वितरण गरिसक्न निर्देशन दिएको हो।

यसअघि कांग्रेसले मंसिर मसान्तभित्र क्रियाशील सदस्यता टुंग्याउन जिल्ला कार्यसमितिहरूलाई परिपत्र गरे पनि अर्घाखाँचीबाहेक अरू जिल्लाले क्रियाशील सदस्यता टुंग्याउन सकेका थिएनन्।

सिन्धुपाल्चोकलगायत कतिपय जिल्लामा समायोजनका काम बाँकी रहेकोले क्रियाशील फारम पनि पुगेको थिएन। अब कांग्रेसले माघ मसान्तभित्र क्रियाशील सदस्यता टुंगाउन जिल्लाहरूलाई समय दिएको छ।

‘एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाले नयाँ क्रियाशील सदस्यता र क्रियाशील सदस्यता नविकरण तथा एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यताको नविकरणको सूची तयार गरी, केन्द्रबाट जारी भएको क्रियाशील सदस्यता वितरण र नवीकरण सम्बन्धी परिपत्रको सबै प्रकृया पूरा गरी, क्रियाशील सदस्यताको नामावलीको सूची क्षेत्र र जिल्लामा प्रकाशित गरी पार्टीको विधान, नियमावली बमोजिमको आवश्यक कागजात र तोकिए बमोजिमको सदस्यता शुल्कसहित बुझाउने अन्तिम मिति २०७७ माघ मसान्त तोकिएको छ,’ आइतबारको केन्द्रीय समितिले गरेको निर्णयमा उल्लेख छ।

यसअघि कांग्रेसले साउनभित्र क्रियाशील सदस्यता वितरण गरिसक्ने भनेको थियो। महाधिवेशनको मिति फागुन ७ नजिक आइसक्दा पनि क्रियाशील सदस्यता कांग्रेसमा टुंगिएको छैन।