२०८१ माघ ७ गते सोमवार
२०८१ माघ ७ गते सोमवार

तुलसीपुर नगर जेसीजको पदभार ग्रहण

तुलसीपुर नगर जेसीजका नयाँ पदाधिकारीले पदभार ग्रहण गरेका छन् । जेसीजले शनिबार एक कार्यक्रमको आयोजना गरी वर्ष २०२१ का नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण गरेको हो ।

तुलसीपुर नगर जेसीज वर्ष २०२० का अध्यक्ष मोहन सुनारले नवनिर्वाचित अध्यक्ष नेत्रलाल भट्टराई (नारायण)लाई पद हस्तान्तरण गरेका हुन् । वर्ष २०२१ का अध्यक्ष भट्टराईसहित कार्यकारिणी उपाध्यक्षमा कमलप्रकाश शर्मा र बसन्त भण्डारीले पदभार ग्रहण गरेका हुन् ।

यस्तै उपाध्यक्षहरूमा बुद्धि सापकोटा, छविकुमार वली, थम्मन विश्वकर्मा, शिवप्रसाद न्यौपाने र सचिव झग्गु सापकोटाले पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहणपछि अध्यक्ष भट्टराईले वर्ष २०२० मा अपूरा रहेका कामलाई पूर्णता दिनुका साथै युवालाई सशक्त बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले संस्थाका सदस्यलाई व्यवसाय तथा आयमूलक उत्पादनमा जोड्नका लागि आफ्नो कार्यकालमा विभिन्न आयमूलक कार्यक्रम सञ्चालन गर्ने बताएका छन् ।

संस्थाले विगत लामो समयदेखि लागूऔषध, साइबर क्राइमलगायतका विभिन्न किसिमका सचेतनामूलक कार्यक्रम, सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब तथा विपन्न वर्गका बालबालिकालाई अक्षयकोष दाताले जम्मा गरेको र विभिन्न निकायसँग समन्वय गर्दै आएको छ ।

कोभिड–१९ को महामारीलाई मध्यनजर गर्दै संस्थाले सचेतनामूलक कार्यक्रम, खाद्यान्न वितरण, राहत वितरण, वृक्षारोपण, निःशुल्क खाना वितरणलगायतका कामहरू समेत गर्दै आएको थियो ।

वर्ष २०२० का अध्यक्ष मोहन सुनारको अध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिपक गिरीको प्रमुख आतिथ्यतामा नवौँ पद हस्तान्तरण कार्यक्रम भएको हो ।

कार्यक्रममा केन्द्रीय सदस्य गिरीले युवालाई व्यक्तित्वसँगै नेतृत्व विकास गराउन जेसीजको स्थापना भएको बताए ।

उनले अहिले युवाको व्यक्तित्व विकास र नेतृत्व विकासले नै देशको विकास निर्माण हुने भन्दै जतिसक्दो युवालाई जेसीजबाट सशक्त बनाउनुपर्ने बताए ।

कार्यक्रममा निवर्तमान अध्यक्ष मोहन सुनारले आफूले वर्ष २०२० मा तुलसीपुर नगर जेसीजलाई कोभिड–१९ को महामारीको समयमा अगष्ट महिनामा नेपाल जेसीजको अवार्ड प्राप्त गर्न सफल भएको बताए ।

यसैगरी जेसीजको भौतिक पूर्वाधार निर्माण तथा व्यवस्थापनको काम गरेको जानकारी दिए ।

जेसीज वर्ष २०२० का कार्यक्रम संयोजक मानबहादुर बस्नेतको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन जेसीज वर्ष २०२० का महासचिव केशवप्रसाद केसी र निर्वाचन अधिकृत मेघराज घिमिरेले गरेका थिए ।

कार्यक्रममा विभिन्न क्षेत्रमा रहेर उत्कृष्ट कार्य गरेका सामाजिक व्यक्तित्वहरूलाई सम्मान एवं पुरस्कृत गरिएको थियो ।