नेशनल प्याब्सन दाङले आफ्नो २३ औं स्थापना दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरी रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । “सहजतामा मात्र हैन संकटमा पनि साथ, निजी विद्यालय सदैव बालबालिकाको माझ”भन्ने मुल नाराका साथ दाङ लगायत देशभर दिवस मनाईएको हो ।
नेशनल प्याव्सन दाङका अध्यक्ष बिमल गौतमको अध्यक्षता तथा नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा पुर्व सिचाई मन्त्री दिपक गिरिको प्रमुख आतिथ्यता एवं नेशनल प्याव्सनका केन्द्रीय उपाध्यक्ष सुवोध कुमार डाँगीको विशिष्ट आतित्थ्यतामा उक्त कार्यक्रम भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व सिचाई मन्त्री दिपक गिरिको गिरिले गुणस्तरीय शिक्षा प्रदान गर्ने दिशामा अझै कटिबद्द भएर लाग्न आग्रह गरे । अझै पनि विकट ठाँउहरुमा गुणस्तरीय शिक्षा पुग्न नसकेको भन्दै गिरीले निम्न वर्गका वालवालिकाहरुलाई समेत सहज र सरल तरिकाले शिक्षा प्रदान गर्न सुझाव दिए । उनले शिक्षामा मात्र ध्यान दिने शिक्षकहरु पनि रक्तदान जस्तो पुनित कार्यमा जोडिएको भन्दै प्रशंसा समेत गरे ।
कार्यक्रममा विशिष्ट अतिथि नेशनल प्याव्सनका केन्द्रीय उपाध्यक्ष सुवोध कुमार डाँगीले नेशनल प्याव्सन गुणस्तरीय शिक्षा प्रदान गर्ने आफ्नो अहम जिम्मेवारी निर्वाह गर्दै सामाजिक सेवामा समेत लागि परेको जिकिर गरे ।
कार्यक्रममा केन्द्रीय सदस्य प्रकाश कुमार शर्माले कोभिड–१९ ले गर्दा शिक्षा क्षेत्र ठुलो समस्या परेको भन्दै सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरेको बताए ।
नेशनल प्याव्सन दाङका उपाध्यक्ष भोजराज न्यौपानेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव ठाकुरप्रसाद डाँगीले गरेका थिए । सो अवसरमा १९ जनाले रक्तदान गरेका थिए ।