२०८१ माघ १३ गते आइतवार
२०८१ माघ १३ गते आइतवार

कांग्रेसद्वारा महाधिवेशनका प्राविधिक विषयमा सहमति जुटाउने प्रयास

नेपाली कांग्रेसले १४ औं महाधिवेशनका लागि प्राविधिक विषयहरूमा छलफल गरी सहमति जुटाउने प्रयास गरेको छ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्काबीच क्रियाशील सदस्यतालगायत विषयमा कसरी अगाडि जाने भन्नेमा छलफल भइरहेको हो।

कांग्रेसले फागुन ७ देखि महाधिवेशन गर्ने कार्यतालिका ल्याएको थियो। तर अब यसअनुसार महाधिवेशन हुने सम्भावना कम हुँदै गइरहेको छ। नयाँ मिति तय भइसकेको छैन।

देशैभर क्रियाशील सदस्यता वितरण सकेपछि मात्रै नयाँ कार्यतालिका बनाउने पक्षमा पौडेल पक्ष छ। अहिलेसम्म अर्घाखाँची जिल्ला कार्यसमितिले मात्रै क्रियाशील सदस्यता टुंग्याएर केन्द्रमा नामावलीको सूची बुझाएको छ।

कतिपय जिल्लामा समायोजनकै काम बाँकी छन्।

विजयकुमार गच्छदार र सुनिलबहादुर थापासँगै कांग्रेस प्रवेश गरेका नेतारकार्यकर्तालाई क्रियाशील सदस्यता दिँदाका मापदण्डजस्ता प्राविधिक विषयमा सहमति जुटाउने प्रयास अहिले भइरहेको हो।

कांग्रेस केन्द्रीय कार्यालयका अनुसार सोमबार छलफल भए पनि यसबारे सहमति भइसकेको छैन। मंगलबार पनि यसबारेमा छलफल जारी रहनेछ।

क्रियाशील सदस्यता पाएको कति वर्षपछि पार्टीका विभिन्न पदमा उम्मेदवार हुन पाउनेजस्ता प्राविधिक विषय कांग्रेसमा टुंग्याउन बाँकी छ। यो अन्य पार्टीबाट प्रवेश गरेकाहरूको हकमा हो। अरूलाई भने विधानमै यसबारे प्रष्ट व्यवस्था छ।