२०७७ माघ १५ गते बिहिवार
२०७७ माघ १५ गते बिहिवार

लुम्बिनीका ९८३ वडामा हरित स्वयंसेवक, लगानी १२ करोड

फाइल तस्वीर ।

युवालाई कृषि पेसाप्रति आकर्षित गर्ने र कृषिलाई उद्यम एवं व्यवसायमा जोड्ने भन्दै लुम्बिनी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले हरित स्वयंसेवक नियुक्त गरेको छ ।

प्रदेशका १ सय ९ स्थानीय तहका ९ सय ८३ वडामा एक–एक जना हरित स्वयंसेवक छनोट गरी नियुक्त गरेको हो । कृषि पढेका तथा कृषि व्यवसाय थालेका युवा त्यसमा छनोट भएका छन् । यो कार्यक्रमअन्तर्गत झन्डै १२ करोड रुपैयाँ लगानी हुनेछ ।

स्थानीय स्तरमा किसानलाई सरल, सहज र सुलभ तरिकाले कृषि सीप र प्रविधि हस्तान्तरण गर्न र कार्यान्वयनमा ल्याउन स्वयंसेवक नियुक्त गरिएको मन्त्री आरती पौडेलले बताइन् ।

मन्त्रालयले छनोट गरेका हरित स्वयंसेवकले मासिक वा वार्षिक रूपमा तलब भत्ता पाउनेछैनन् । तर, नमुना कृषि फार्म सञ्चालन गरी कृषि–उद्यमी बन्न रकम पाउनेछन् । त्यसका लागि मन्त्रालयको ११ करोड २१ लाख ६० हजार रुपैयाँ लगानी हुनेछ । यसबाट कृषि फार्म वा व्यवसाय सञ्चालन गरी नमुना कृषि उद्यमीका रूपमा आफ्नो पहिचान बनाउनुपर्नेछ । त्यसका लागि मन्त्रालयले प्रतिव्यक्ति एक लाख २० हजार लगानी गरेको छ ।

-कान्तिपुरबाट