नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक कोटेश्वर पेरिसडाँडामा जारी छ । प्रतिनिधिसभा विघटनपछि पनि सांगठनिक रुपमा नेकपाको केपी ओली समूह आक्रमक रुपमा देखिएपछि दाहाल–नेपाल समूहले आन्दोलनको स्वरुप बदल्ने तयारी थालेको हो ।
पुस ५ मा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि यो समूहले पहिलो चरणको आन्दोलन सकेर पुस १८ मा दोस्रो चरणको आन्दोलन घोषणा गरेको थियो । आन्दोलनका कार्यक्रमअन्तर्गत पुस २० देखि माघ २३ गतेसम्म प्रधानमन्त्रीलाई विरोध पत्र बुझाउने, गाउँ गाउँमा कालो झन्डा गाड्ने, सरोकारवाला पक्षसँग अन्तक्रिया, प्रदर्शन लगायत थिए ।
तर, दोस्रो चरणको आन्दोलन अन्तर्गतका कार्यक्रमले उपस्थिति कमजोर देखिएको बुझाई पछि यो समूहले ‘देखिने’ खालका कार्यक्रम ल्याउने तयारी गरेको छ । त्यसकै लागि स्थायी कमिटी बैठक बसेको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।