२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

जुम्लामा अनिश्चितकालका लागि यातायात बन्द

फाइल तस्वीर ।

चन्दननाथ नगरपालिका र यातायात व्यवसायीबीच बसपार्क सञ्चालनसम्बन्धी कुरा नमिल्दा अनिश्चितकालीन यातायात बन्द भएको छ । आफूहरुको मागप्रति नगरपालिकाले बेवास्ता गरेको भन्दै व्यवसायीले यातायात बन्द गराएका हुन् ।

चन्दननाथ नगरपालिकाले एकतर्फी रुपमा कर निर्धारण गरी बसपार्क सञ्चालन गर्न लागेको भन्दै व्यवसायीहरु विरोधमा उत्रिएका थिए । उनीहरुले बसपार्कमा लगाइएको चर्को शुल्क घटाउन माग गर्दै नगरपालिकाको ध्यानाकर्षण गराए पनि बेवास्ता भएपछि यातायात बन्दको घोषणा गरेका हुन् । शुक्रबारदेखि लामो तथा छोटो दूरीका सबै यातायातका साधन बन्द गरिएको देउती यातायात प्रालिका इन्चार्ज तेजेन्द्र हितानले बताए । ‘बसपार्क सञ्चालन गर्नु राम्रो पक्ष हो,’ उनले भने, ‘तर सरोकारवाला र व्यवसायीसँग छलफल नै नगरी एकतर्फी रुपमा कर निर्धारण गरियो ।’

व्यवसायीले यातायात बन्द गरेपनि नगरप्रमुख कान्तिका सेजुवाल र प्रमुख प्रशासकीय अधिकृत जिल्लामा नहुँदा छलफल अगाडि बढ्न सकेको छैन ।