२०७७ फाल्गुन २५ गते मङ्गलवार
२०७७ फाल्गुन २५ गते मङ्गलवार

रुकुम पश्चिममा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, ९ राउण्ड हवाई फायर

सांकेतिक तस्वीर ।

दुई राजनीतिक दलका कार्यकर्ताबीचको विवाद समाधानका लागि प्रहरी कार्यालयमा भइरहेको छलफलका क्रममा तीन जना वडाध्यक्ष कुटिएका छन् ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ३, ८ र ९ का वडाध्यक्ष फरक–फरक पार्टीका कार्यकर्ताबाट कुटिएको बताइएको छ । स्थिति नियन्त्रणमा लिन नौ राउण्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ ।

आठबीसकोट नगरपालिकामा नेकपा (दाहाल–नेपाल समुह) र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको विवाद मिलाउन इलाका प्रहरी कर्यालयमा भइरहेको छलफलका क्रममा वडा नम्बर ९ का वडाध्यक्ष तारकबहादुर शाहीमाथि कुटपिट भएको थियो ।

उहाँलाई वडा नम्बर ३ का वडाध्यक्ष केशरमान विक र वडा नम्बर ८ का वडाध्यक्ष मानबहादुर चनाराले प्रहरीकै अगाडि कुटेको छलफलममा सहभागी नेपाली कांग्रेसका नगर सभापति कमल शाहले बताउनुभयो ।

प्रहरी कार्यालयमै दुई राजनीतिक दलका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले नौ राउण्ड हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठले बताउनुभयो ।

झडपमा एक प्रहरी सहायक निरीक्षक, एक जना सशस्त्र प्रहरीका एक जवानसहित दुवैतर्फका केही कार्यकर्ता घाइते भएको बताइएको छ । घाइतेहरुको पूरा विवरण प्राप्त भएको छैन । प्रहरीले वडा अध्यक्षद्वय केशरमान र मानबहादुरलाई नियन्त्रणमा लिएको बताइएको छ ।

विवाद सहमति नजिक पुगेका बेला एक पक्ष भड्किएर झडपको अवस्था आएको डीएसपी श्रेष्ठले जानकारी दिनुभयो । विवाद सोमबार बेलुकादेखि नै सुरु भएको थियो । स्थिति पूर्णरुपमा नियन्त्रणमा आउने बित्तिकै दोषीमाथि कारबाही गरिने उहाँले बताउनुभयो ।

-उज्यालो अनलाइनबाट