२०७७ फाल्गुन १७ गते सोमवार
२०७७ फाल्गुन १७ गते सोमवार

कोरोना संक्रमितको मृत्यु भएपछि डाक्टरमाथि कुटपिट

फाइल तस्वीर ।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको कोभिड आइसियूमा कार्यरत डाक्टरमाथि कुटपिट भएको छ।

मंगलबार बिहान एक जना ६१ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएपछि उनका आफन्तले आक्रोशित हुँदै डाक्टरमाथि नै कुटपिट गरेको आइसियूमा खटिएका एक चिकित्सकले जानकारी दिए।

अस्पतालले बिरामीको कोरोनाका कारण मृत्यु भएको जनाए पनि आफन्तले त्यो कुरा नस्वीकारेको र ड्युटीमा खटिएको चिकित्सकलाई नै हातपात गरेको ती चिकित्सकले बताए।

उनले चिकित्सकहरू यस्तो महामारीमा खटिँदा पनि कुटाइ खानुपर्दा यसले मनोबल गिर्ने बताए।

अहिले मृतकको शव अस्पतालमै राखिएको छ।

गुल्मी घर भएका उनलाई तीन दिनअघि बुटवलबाट थप उपचारका लागि काठमाडौं ल्याइएको थियो। तर उपचारकै क्रममा उनको मंगलबार बिहान मृत्यु भयो।

बिहानको घटनापछि भने महाराजगञ्ज प्रहरी कार्यालयले चिकित्सकमाथि कुटपिट गर्नेलाई नियन्त्रणमा लिएको छ।