२०७७ फाल्गुन २५ गते मङ्गलवार
२०७७ फाल्गुन २५ गते मङ्गलवार

हत्या गरेर जलाउने प्रयास

सांकेतिक तस्वीर ।

रुपन्देहीको मायादेवी गाउँपालिकामा एक युवकको शव अनुहार जलेको अवस्थामा फेला परेको छ।

रुपन्देही प्रहरी प्रमुख प्रविन पोखरेलले मारेपछि अनुहार चिन्न गाह्रो होस् भनेर अनुहारको भागमा पेट्रोल छर्किएर जलाइएको आशंका गरे। मृतक व्यक्तिको सनाखत हुन सकेको छैन। ‘मान्छे हराएको भनेर उजुरी दिएका व्यक्तिलाई मृतकको तस्विर देखाउँदा कसैले पनि आफ्नो मान्छे हो भनेका छैनन्’, एसपी पोखरेलले भने।

मायादेवी गाउँपालिका ७ स्थित शौच गर्न प्रयोग भइरहेको क्षेत्रमा मंगलबार दिउँसो युवकको शव देखेपछि स्थानीयले प्रहरीले खबर गरेका थिए। पोखरेलले मान्छे मारेर मोटरसाइकलमा ल्याएर त्यहाँनेर फ्याँकेको हुन सक्ने बताए।

‘मृतकको शव नजिकै मोटरसाइकलको टायरको छाप छ। नजिकै रगतले लतपतिएको पाइप पनि छ। घाँटीमा चोट पनि देखिन्छ। अनुहार र कपाल थोरै जलेकाले अनुहार चिन्न गाह्रो होस् भनेर यसो गरिएको हुन सक्छ’, पोखरेलले भने।

घटनास्थल भारतीय सिमाबाट पाँच किलोमिटरभित्र नेपाली क्षेत्रमा पर्छ। प्रहरीका अनुसार घटनास्थलमा अनुसन्धानमा प्रयोग भएको कुकुरले अभियुक्त हिँडेको बाटो पहिल्याउँदै साढे ३ किलोमिटरसम्म पुगेपनि त्यसपछि बाटो भेटिएपछि अलमलिएको थियो। प्रहरीले भारतमा हत्या गरि नेपालमा ल्याएर फ्याँकेको हुन सक्ने अनुमान गरेको छ।

-देशसञ्चारबाट