२०८० चैत्र ६ गते मङ्गलवार
२०८० चैत्र ६ गते मङ्गलवार

अर्घाखाँचीमा बाबुले गरे २ वर्षीया छोरीको हत्या

प्रतीकात्मक तस्वीर ।

सितगंगा नगरपालिका–२ झिर्रा गाउँमा बाबुले २ वर्षीया छोरीको हत्या गरेका छन् । २४ वर्षीय सन्तोष घिमिरेले २ वर्षीया छोरी सृष्टिको डोरीले घाँटी कसेर हत्या गरेको प्रहरीले जनाएको छ ।

छोरीलाई घरमा एक्लै भएको मौका छोपेर घिमिरेले घरभित्रै सुतिरहेको बेला मंगलबार दिउँसो साढे १२ बजेतिर डोरीले घाँटी कसेर छोरीको हत्या गरेको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताए । घरमा सन्तोषकी आमा र बाबु काम गर्न बारीमा गएका थिए । सन्तोषकी श्रीमती केही महिनादेखि कपिलवस्तुको चार नम्बरमा बस्दै आएकी छन् ।

दुई दिनअघि श्रीमतीलाई लिन चार नम्बर गएका थिए तर आउन मानिनन् । श्रीमान–श्रीमतीको झगडा भएपछि रिसको झोंकमा एक मात्र छोरीको उनले हत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ । हत्यापछि सन्तोषलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको बस्नेतले बताए ।