२०८१ बैशाख ४ गते मङ्गलवार
२०८१ बैशाख ४ गते मङ्गलवार

मतदाता नामावलीको गल्ती सच्याउन निर्वाचन कार्यालयको आग्रह

जिल्ला निर्वाचन कार्यालय दाङले मतदाताहरुलाई मतदाता नामावलीमा भएको त्रुटि सच्याउन आग्रह गरेको छ । कार्यालयले मंगलवार घोराहीमा सरोकारवाला निकायसँग अन्तत्र्रिmया कार्यक्रमको आयोजना गरी मतदाताहरुलाई मतदाता नामावलीमा भएको गल्ती सच्याउन आग्रह गरेको हो ।

मतदाता नामावलीमा भएको नाम, ठेगाना गलतसँगै मृत्यु भएका र नागरिकता त्यागेका व्यक्तिहरुको नाम हटाउन, बसाई–सराई गरेका व्यक्तिहरुलाई सच्याउन आग्रह गरेको जिल्ला निर्वाचन कार्यालय दाङका प्रमुख निमकान्त भट्टराईले जानकारी दिएका छन् । सरकारले निर्वाचनको घोषणा गरेसँगै कार्यालयले मतदाता नामावलीमा भएको गल्ती सच्याउन मतदाताहरुलाई आग्रह गरेको हो ।

जिल्ला निर्वाचन अधिकारी निमराज भट्टराईले निर्वाचनको तयारीस्वरुप मतदान केन्द्रहरुको अवलोकन तथा मतदाता नामावली अद्यावधिक गर्ने काम अघि सारिएको बताए । उनले माघको १६ गतेदेखि १८ गतेसम्म मतदाता नामावली अद्यावधिक गर्ने काम शुरु हुन थालेको जानकारी दिएका हुन् । उनले मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन १८ गतेसम्म सम्बन्धित स्थानीय तहमा निवेदन दिन सकिने कार्यालयले व्यवस्था गरेको जानकारी दिएका हुन् ।

निवेदनका आधारमा १८ गतेदेखि २१ गतेसम्म त्रुटि सच्याउने काम गरिनेसमेत उनले जानकारी दिएका हुन् । त्यस्तै उनले दाङमा आगामी निर्वाचनका लागि तीववटा मतदान केन्द्र थप गर्न निर्वाचन आयोगलाई आग्रह गरेको समेत जानकारी दिए ।

जनसंख्याको वृद्धिसँगै मतदाताहरुलाई सहजताका लागि घोराही उपमहानगरपालिका–१ र २ मा एक÷एक वटा र बबई गाउँपालिका–१ मा एउटा मतदान केन्द्र थप्न निर्वाचन आयोगलाई आग्रह गरेको उनले जानकारी दिए । कार्यालयका अनुसार हाल दाङमा १ सय ५१ मतदान स्थल र ४ सय १८ मतदान केन्द्रहरु रहेका छन् । दाङमा ३ लाख ६३ हजार ४ सय ९२ जना मतदाताहरु रहेका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी जयनारायन आचार्यले चुनावमा देखिने त्रुटिहरुलाई सच्याउन मतदाताहरुलाई आग्रह गरेका थिए । साथै उनले मतदाताहरुलाई गल्ती सच्याउनका लागि मतदाता नामावली अनलाइनमा राख्नसमेत आग्रह गरेका थिए । कार्यक्रममा जिल्लाका राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतका सरोकारवाला निकायको सहभागिता रहेको थियो ।

जिल्ला निर्वाचन कार्यालय दाङका नायव सुव्वा भुवनेश्वर अधिकारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण गेहेन्द्र कँवरले गरेका थिए ।