२०८१ माघ ७ गते सोमवार
२०८१ माघ ७ गते सोमवार

कक्षा ११ र १२ मा गणित विषय अनिवार्य

कक्षा ११ र १२ मा ‘सामाजिक अध्ययन तथा जीवनउपयोगी शिक्षा’ र गणित दुवै विषय अनिवार्यमा पर्ने भएको छ ।

यसअघि अनिवार्यबाट हटाइ ऐच्छिकमा राखिएको गणित विषयलाई पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को शनिबारको बैठकले अनिवार्य विषयका रुपमा पढ्न चाहने विद्यार्थीका लागि बाटो खुल्ला रहने गरी निर्णय गरेको हो ।

नयाँ पाठ्यक्रममा गणितलाई ऐच्छिकमा राखिएमा सम्बन्धित विषयविज्ञबाट उठेको असन्तुष्टिलाई सम्बोधन गर्दै गणितलाई सामाजिक अध्ययन तथा जीवनोपयोगी झैँ अनिवार्यको ‘वा’ मा थप गर्ने निर्णय गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा रहेको परिषद्को बैठकको निर्णय र सिफारिसको कार्यान्वयन शिक्षा मन्त्रालय र मातहतको पाठ्यक्रम विकास केन्द्रले गर्नेछ । यो निर्णय यसै शैक्षिकसत्रदेखि लागू हुनेछ । ११ र १२ मा नेपाली र अङ्ग्रेजी विषय भने स्वतस् अनिवार्य हुनेछ ।

गणितलाई अनिवार्य विषयबाट हटाइएकाले नयाँ पाठ्यक्रम लागू नगर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदनमा गएको पुस २८ गते दिइएको फैसलामा नयाँ पाठ्यक्रम लागू गर्न बाधा नहुने तर गणित विषयलाई समावेश गर्ने गरी निर्देश गरिएको थियो ।

२०७५ जेठ १८ गतेको परिषद्को बैठकले नयाँ पाठ्यक्रम कार्यान्वयनका लागि सिफारिस गरेको थियो । त्यस निर्णयका आधारमा शिक्षा मन्त्रालयले ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६’ जारी गरी गणितलाई ऐच्छिक विषयमा राखिएको थियो ।